यती एयरलाइन्सको नयाँ वर्ष अफर : २ वर्षमुनिका बालबालिकाको भाडा नलिने

0
Shares

यती एअरलाइन्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाइ भाडा निःशुल्क गर्ने घोषणा गरेको छ।

सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै यतीले शिशुहरुलाई हवाइ भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्समार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिँदै आएका छन्।

यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाइ भाडामा शतप्रतिशत छुट गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि वैशाख १ देखि सीमित समयको लागि लागू गरिएको छ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यती एअरलाइन्सको चेकइन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनुपर्नेछ। यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ।

हाल यती एअरलाइन्सले ७ वटा एटीआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४ हजारभन्दा धेरै यात्रुहरुलाई सेवा दिँदै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।