नौ महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त, पर्यटन क्षेत्रमा ४५ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ३० अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत्र मसान्तसम्ममा कुल ३० अर्ब ९ करोड ९५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

यो अघिल्लो वर्षको सोही समयको तुलनामा सात प्रतिशतको वृद्धिदर हो। आर्थिक वर्ष २०७९/८० को नौ महिनामा २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो।

चालु आर्थिक ९ महिनाको अवधिमा विभिन्न देशबाट २६९ वटा नयाँ उद्योगका सो लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार चैत्रसम्म ३ वटा ठूला, १३ वटा मध्यम र २५३ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको हो। यी उद्योगहरुबाट १३ हजार ८३४ रोजगारी सृजना हुने विभागको भनाई छ ।

चैतमा मात्रै १६ वटा उद्योगका लागि ९६ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ। जसबाट ६६५ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४५ प्रतिशत, ३५ प्रतिशत सेवा क्षेत्र, १२ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्।

कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ। यस क्षेत्रमा १२२ उद्योगको लगानी स्वीकृत भएको छ। सेवा क्षेत्रमा ९३, उत्पादनमूलक उद्योगमा १२, सूचना प्रविधिमा नौ, पूर्वाधारमा ६, कृषिमा पाँच र खानीमा दुई वटा उद्योगको लगानी स्वीकृत भएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म ६ हजार १२८ उद्योगहरुका लागि ४ खर्ब ८० अर्ब ६ करोड बराबरकोे लगानी प्रतिबद्धता आएको जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख २२ हजार ९ सय ३१ जनाले रोजगारी पाउने विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।