सानिमा ग्रुपले निर्माण गरेको सबैभन्दा ठूलो ७३ मेगावाटको मध्य तमोरको परीक्षण उत्पादन सुरु गरेको छ । जलविद्युत् विकासको क्षेत्रमा एकपछि अर्को आयोजना निर्माण गर्दै आएको सानिमा ग्रुप अन्तर्गत निर्माण भएको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा २२० केभी कोशी कोरिडोर प्रसारण लाइनमा जोडिएको हो । विद्युत् उत्पादन भएको औपचारिक जानकारी दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार आयोजनास्थल पुगेका हुन् ।
कोशी करिडोर प्रसारण लाइनमा प्रवाह भएको आयोजनाको विजुली १५ दिन प्राधिकरणलाई निःशुल्क हुनेछ । परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ मिटर अग्लो बाँध निर्माण गरी ३४०० मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युतगृहमा जल प्रवाह गरी बिजुली निकालिएको छ ।
आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो। मध्य–तमोर प्रणालीमा जोडिएसँगै देशको कुल विद्युत् जडित क्षमता ३ हजार ३०० मेगावाट पुगेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको नदीको प्रवाहमा आधारित (आरओआर) आयोजनाबाट सुक्खायाममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ ।
सानिमा समूहले यसअघि रामेछापमा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजना, इलाममा २२ मेगावाटको सानिमा माई, रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ, सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना र इलाममा ७ मेगावाटको सानिमा माई क्यासकेड निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यस्तै सो समुहले दोलखा जिल्लामा ५६ मेगावाटको जुम खोला निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
