दुई हजार बिन्दु नजिक झर्यो नेप्से, दुई कम्पनीमा नकारात्मक सर्किट

0
Shares

सेयर बजार परिसूचक मापक नेप्सेको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन आइतबार २.३५ अंकले घटेको सूचक सोमबार थप गहिरिँदै १६.८२ अंकले घट्न पुग्यो । यससँगै बजार सूचक २००६.५२ मा झरेको छ ।

बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरको सकारात्मक असर सेयर बजारमा पर्न सकेको छैन । नियामक निकायको लगानीकर्ताको मनोबल बढ्ने गरी काम नहुँदा मौखिक आश्वासनमै बजार वृद्धिको सम्भावना देखिँदैन । त्यसकारण बजारमा खास खसर पर्नेगरी पुँजी बजार सुधारको चरणलाई अगाडि नबढाउँदासम्म बजार यस्तै रहने देखिन्छ ।

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकृया समेत पाँच जनाको सर्टलिस्टेडमा आएर अड्किएको छ। छिटो बोर्ड अध्यक्ष चयन भएको भए त्यसले पनि बजारलाई गति दिन उत्प्रेरक बन्ने आंकलन लगानीकर्तामा थियो । तर अर्थ मन्त्रालयको ढिलाईका कारण बोर्डले नेतृत्व पाउन अझै समय लाग्ने देखिएको छ ।

बजारमा सकारात्मक माहोल सिर्जना हुन नसक्दा कारोबार रकम औसतमा नै रहेको छ । यसदिन आइतबारभन्दा ४ करोड ७९ लाखले बढेर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भयो । दिनभरमा ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता सेयर खरिद बिक्री भएको छ । ५० हजार ५२४ ओटा संख्याबाट उक्त कित्ता सेयर कारोबार भएको हो ।

बजार घटेपछि सबै १३ ओटै उपसमुहगत सूचक राताम्मे बनेका छन् । वित्त (फाइनान्स) सर्वाधिक १.६४ प्रतिशतले घटेको बजारमा उत्पादनतथा प्रशोधनमुलक १.५९ प्रतिशत, अन्य १.३८ प्रतिशत र होछल तथा पर्यटनमुलक १.१५ प्रतिशतले ओरालो लागेको छ। बाँकी एक प्रतिशतभन्दा कम घटेका छन् ।

सोमबार शीष सेयर मूल्य बढेका दश कम्पनीमा पाँच ओटा जलविद्युत कम्पनी छन् । सबैभन्दा बढी मूल्य बढेको ८.५% माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य ७.०९ प्रतिशतले बढेको छ । यस्तै मेन्छियम हाइड्रोपावर ७.०५ प्रतिशत, मिड सोलु हाइड्रोपावर ५.९३, श्रृजनशील लघुवित्त ४.६१, सिवाईसी नेपाल लघुवित्त ४.२३, माउन्टेन हाइड्रो नेपाल ३.८१, हिमालयन हाइड्रोपावर ३.१९, ग्रीन डेभलपमेन्ट बैंक २.७८ र दिब्यश्वरी हाइड्रोपावरको २.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सोमबारको बजारबाट गुराँस लघुवित्तका सेयरधनीले सर्वाधिक गुमाएका छन् । १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको लघुवित्तको मूल्य प्रतिकित्ता १८९५ रुपैयाँ ४० पैसामा झरेको छ । यस्तै दोल्ती पावरको सेयर मूल्य पनि १० प्रतिशतले घटेर ४७८ रुपैयाँ ८० पैसा कायम भएको छ। यसैगरी सोमबार खानीखोला हाइड्रोपावर ७.४३, निफ्रा उर्जा ऋणपत्र ७%–२०८५।८६, र माण्डू हाइड्रोपावरको ६.०१ प्रतिशतले घटेको छ । यस्तै सिंगटी हाइड्रोपावरको ५.९७, बोटलर्स नेपाल लिमिटेडको ५.८८, स्वाभिमान लघुवित्तको ४.७७, जानकी फाइनान्सको ४.१८ र कालिका पावरको सेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा ङादी ग्रुप पावरको सर्वाधिक १७ करोड ७३ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सिवाईसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानिमा माई हाइड्रोपावरको ६ करोड ९२ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ५१ लाख र हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३१ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो । कारोबार सङ्ख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ हजार ९३६ ओटा कारोबार भएको छ ।

आज कुल बजार पुँजीकरण २६ अर्ब ६७ करोड ९६ लाख रुपैयाँले घटेर ३१ खर्ब ८१ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कायम भएको छ । हिजो आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ८ अर्ब २७ करोड १ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।