राष्ट्र बैंकले ४ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार कूल रकममध्ये वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । केन्द्रीय बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म कूल १८७ दिन (६ महिना) उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।

इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाको न्यूनतम पूँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको, सीडी रेसियो, खुद तरल सम्पत्ति तोकिएअनुसार कायम गरेको हुनुपर्नेछ । यस्तै संस्था सञ्चालनको २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पुर्याएको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने लगायतको सर्त रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।