लगानी सम्मेलनका दुई दिन : प्रतिबद्धताको चाङ, न्यून सम्झौता

0
Shares

नेपाल सरकारको आयोजनामा काठमाडौँमा दुई दिने लगानी सम्मेलन (वैशाख १६ र १७) सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा आठ सय भन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीको सहभागिता थियो ।

सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।

विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त व्यक्त गरेका छन्। नेपालको दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिबद्धता पनि यी निकायहरुले जनाएका छन् ।

लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौताहरु भएका छन् । सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसिया बीच द्धिपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासंघले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ।

लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्धिपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंघेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा यो परियोजना प्रस्तावित भएको छ ।

सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ ।

मुगु जिल्लाको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाईड्रो परियोजना संचालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटनसमेत गरेको छ ।

सम्मेलनको दोस्रो दिन समापन सत्रका अतिरिक्त सार्वजनिक–निजी साझेदारीसम्बन्धी मूल सत्रका साथै विभिन्न तीन चरणमा १० समानान्तर सत्रहरू सम्पन्न भएका थिए । सम्मेलनस्थलमा सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायका २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।