नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइमा ७७ वटै जिल्लाका उद्योगी तथा व्यवसायीहरुको लगानीमा ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले देशैभरका उद्यमी व्यवसायीहरुले लगानी गर्न सक्ने गरि १० अर्ब पूँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने भएको हो ।
नेपाल जग्गा तथा आवास विकास संघको साधारण सभामा आज महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा इन्भेष्टमेन्ट कम्पनी खोल्न लागिएको बताएका हुन् ।
उनका अनुसार उक्त कम्पनीले ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने छ । अध्यक्ष ढकालले कुल पूँजीको १० प्रतिशत सर्वसाधारण नागरिकमा प्राथमिक सेयर निष्काशन गर्ने गरि सेयर संरचना तय गरिएको छ ।
अध्यक्ष ढकालले कम्पनीमा ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने भन्दै धेरै पैसा हुनेले धेरै लगानी गर्छु भनेर नपाउने गरी निश्चित सीमा तोकिने बताए । कम्पनीमा साना र मझौला उद्यमी व्यवसायीहरुलाई प्राथमिकता दिने बताउँदै अध्यक्ष ढकालले कुनै व्यवसायीले २ लाख लगानी गर्न चाहेमा त्यो रकम पनि स्वीकार गरेर पूँजी संकलन गरिने उल्लेख गरे ।
कम्पनीमा महासंघका सदस्य बाहेकका उद्योगी व्यवसायीले पनि लगानी गर्न सक्ने उनले जानकारी दिए । कम्पनी महासंघ अन्तर्गतको नभएकाले नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत देशका सबै क्षेत्र र भूगोलमा रहेको नागरिकले कम्पनीमार्फत यो सेयर लगानी गर्न सक्छन् । कम्पनीमा कसैको बढी प्रभुत्व नहोस् भन्नकै लागि लगानी सीमा तोकिने पनि ढकालले बताए । यस्तो सीमा संघ र प्रदेशमा फरक फरक हुने पनि बताइएको छ ।

केन्द्रमा स्थापना हुने मुख्य कम्पनी पब्लिक लिमिटेड हुने र त्यसकै सहायक कम्पनीका रूपमा हरेक प्रदेशमा एक एक वटा सहायक कम्पनी स्थापना गर्नेे महासंघको तयारी छ । यसरी स्थापना हुने कम्पनीको लगानी कृषि उत्पादन तथा प्रशोधन, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, पूर्वाधार लगायत उत्पादनमूलक क्षेत्रमा मात्र हुनेछ ।
सम्भावना भएर पनि पुँजी र कुशल व्यवस्थापनको अभावमा राम्रोसँग सञ्चालन हुन नसकेका सरकारी संस्थानहरूमा पनि यो कम्पनीले लगानी गर्न सकिने गरी कम्पनी अगाडि बढाउने उनले बताए । यसरी स्थापना हुने कम्पनीले एकातिर निजी क्षेत्रलाई थप लगानी गर्न उत्साहित गर्ने भने अर्कोतिर समाजमा छरिएर रहेको स-सानो पुँजी एकत्रित गरेर राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याउने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
