प्रभु इन्स्योरेन्सले ५०.१५% हकप्रद बिक्री गर्ने

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । नियामक निकाय बीमा प्राधिकरणलाई रणनितिक साझेदार भित्र्याएर न्यूनतम चुक्ता पुँजी कायम गर्ने पुँजी वृद्धि योजना पेश गरेको यस कम्पनीले अन्तत सो प्रकृयामा जान नसकेपछि हकप्रद बिक्री गरेर नै चुक्ता पुँजी कायम गर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको २०८१ बैशाख २० गते बिहीबार साँझ ७ बजे सम्पन्न भएको बैठकले नियामक निकाय बीमा समितिले तोकेको पुँजी कायम गर्न हकप्रद जारी गर्ने निर्णय गरेको छ । बैठकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भई बिहीबार सम्पन्न भएको २८ औं वार्षिक साधारण सभाबाट पारित भएको ४.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको कम्पनी सचिव अरविन्द कुमार कर्णले जानकारी दिए ।

हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख रहेको छ । ४.७५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार ६८ रुपैयाँ पुगेको छ। सञ्चालक समितिको बैठकअनुसार चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद जारी गर्दा ७२ करोड २९ लाख ६ हजार २६६ रुपैयाँको हकप्रद बिक्रीमा आउनेछ । यसो हुँदा कम्पनीको चुक्ता पुँजी २ अर्ब १६ करोड ४३ लाख ९४ हजार ३३३ रुपैयाँ कायम हुनेछ । यसपछि कम्पनीलाई साढे २ अर्ब पुँजी कायम गर्न ३३करोड ५६ लाख ५ हजार ६६७ रुपैयाँ आवश्यक पर्नेछ ।

बिहीबार सम्पन्न भएको २८ औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनी समूह “क” बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई निर्विरोध निर्वाचित गरेको छ । साथै सर्वसाधारण सेयरधनी समूह “ग” बाट प्रतिनिधित्व गर्नुहुने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामा निर्वाचित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।