सन नेपाल लाइफले ९ महीनामा कमायो ४९ करोड ३६ लाख नाफा, अन्य सूचकमा प्रगति कति ?

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०६ प्रतिशत धेरै हो । गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्म कम्पनीले ४४ करोड ४५ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पोलिसी होल्डरलाई जारी कर्जा तथा लगानीबाट हुने ब्याज आम्दानी बढ्दा कम्पनीको नाफामा पनि वृद्धि भएको हो । कम्पनीको कर्जा तथा लगानीबाट हुने आय ६०.५८ प्रतिशतले बढेर ६५ करोड २३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । साथै बीमालेख धितोमा ५९ करोड ५२ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेर १ करोड ९२ लाख १२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

तेस्रो त्रैमाससम्म इन्स्योरेन्सको कुल आम्दानी ७.७८ प्रतिशतले बढेर ३ अर्ब १७ करोड ४७ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस्तै कुल खर्च पनि ७.२० प्रतिशतले बढेर २ अर्ब ६८ करोड १० लाख ५८ हजार रुपैयाँमा पुगेको छ । तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको लगानी बढेर १० अर्ब ७५ करोड ५१ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा ७ अर्ब ४८ करोड ४ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ३ अर्ब २० करोड भएको कम्पनीको सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड २५ लाख ८१ हजार र रिटेण्ड अर्निङ्गमा १ अर्ब २३ करोड ४१ लाख ४७ हजार रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ९६ करोड ६० लाख रुपैयाँ बराबर पुगेको छ । समग्रमा कम्पनीको कोषको आकार १० अर्बभन्दा माथि पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २० रुपैयाँ ५७ पैसा, प्रति सेयर नेटवर्थ १९४ रुपैयाँ ११ पैसा, प्रति सेयर कुल सम्पतिको मूल्य ४२१.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.०३ गुणा छ । कम्पनीले गत आवको मुनाफाबाट २३.८० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ४९ करोड ६ लाख १० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५१ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा ०.९८ प्रतिशतले घटेको हो ।
चैत्र मसान्तसम्ममा कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ७२ लाख ८२ हजार कुल बीमा शुल्क आर्जन गरेकोमा ३.७२ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले कुल ओटा बीमलेख जारी गरेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसनमा २९ करोड ८८ लाख ४८ हजार रुपैयाँ र अभिकर्ता कमिशनमा २२ करोड ९७ लाख २३ हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमामा ३८ करोड १९ लाख ५६ हजार र अभिकर्ता कमिशनमा २५ करोड १८ लाख १३ हजार रुपैयाँ खर्चिएको थियो ।

त्यस्तै, समीक्षा अवधीमा कम्पनीले ८५ करोड ३४ लाख ७९ हजार रुपैयाँ कूल बीमा दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब १५ करोड २८ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।