इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा झन्डै चार गुणाले बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड २५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आवको यसै अवधिमा कम्पनीले १ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद नाफा २८०.५७ प्रतिशत अर्थात ३ करोड ८७ लाख रुपैयाँले बढेको हो । लघुवित्तको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
यस अवधिसम्ममा इन्फिनिटी लघुवित्तको वितरणयोग्य नाफा भने अझै ४ करोड ४६ लाख २३ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड ५७ लाख ३६ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको जगेडा कोष ५८.२६ प्रतिशतले बढेको हो । लघुवित्तले चैतसम्म १ अर्ब २७ करोड ७५ लाख निक्षेप संकलन र ३ अर्ब २७ करोड ९७ लाख रुपैयाँ सापटी बाट ५ अर्ब १५ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले खराब कर्जा दुई तिहाईले घटेको छ । गत चैतमा १४.०४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर ४.९७ प्रतिशतमा झरेको छ । खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७ पैसाबाट बढेर १४ रुपैयाँ १० पैसा पुगेकोे छ । यस्तै प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४५ पैसा, कस्ट अफ फन्ड ८.३९ प्रतिशत र मूल्य आम्दानी अनुपात ६६.६७ गुणा छ ।
चालु आवको चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले बढेर १९ करोड ९३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा २८५.८६ प्रतिशतले बढेर ७ करोड ५१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
