सूर्योदय वोमी लघुवित्तको लगानीकर्ता निराश बनाउने वित्तीय विवरण सार्वजनिक

0
Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई निराश बनाउने चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ५९.३१ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २ करोड २९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ६३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा ५९.३१% घटेको हो ।

चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रहेको कम्पनीको तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा ३४ करोड ७० लाख ७५ हजार र रिटेन्ड अर्निङमा १७ करोड ५५ लाख ३२ हजार रुपैयाँ सञ्चिति गरेको छ । लघुवित्त संस्थाको निक्षेप संलकन ४ अर्ब ७९ करोड ९५ लाख र कर्जा प्रवाह १० अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।  

गत आवको तुलनामा चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १३.८४ प्रतिशत र सञ्चालन नाफा ५८.४७ प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ४३ करोड ९६ लाख २० हजार रुपैयाँ रहेकोमा चालू आवमा घटेर ३७ करोड ८७ लाख ५७ हजार रुपैयाँमा झरेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवमा ७ करोड ८९ लाख रहेकोमा चालू आवमा घटेर ३ करोड २७ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ७३ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  संस्थाले कर्मचारीको तलब लगायतका सेवा सुविधाका लागि ३२ करोड ८४ लाख र अन्य सञ्चालनका लागि ६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ९ रुपैयाँ ४९ पैसा रहेकोमा चालू आवमा घटेर ३ रुपैयाँ ३६ पैसामा झरेको छ । त्यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५६.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२६.०३ गुणा, कस्ट अफ फन्ड ९.२०, आधारदर १४.७० प्रतिशत, खराब कर्जा अनुपात ६.२० प्रतिशत र स्प्रेडदर ५.४६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।