सेयर बजारमा सामान्य वृद्धि, करेक्सन सकिएकै हो त ?

0
Shares

सेयर बजारको गिरावट मंगलबार थामिएको छ । पछिल्ला तीन दिनमा घट्दै आएको नेप्से मंगलबार कारोबार समयमा साढे १२ बजेपछि ११.९६ अंकले बढेर १९७०.७१ बिन्दुमा पुगेपनि त्यसपछि खरिदभन्दा बिक्रीचाप अधिक हुँदा बजार पुनः घटेर सामान्य वृद्धिमा कारोबार बन्द भएको हो ।

नेप्से फागुन ३० गते २१०९ अंकमा रहेकोमा करिब दुई महीना अवधिमा नेप्से १५० अंकले घटेर सोमबार १९५८ बिन्दुसम्म झरेको थियाे । मंगलबार बजारले लय समात्न खोजेको छ । यद्यपी लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा रहेकाले मंगलबार नै बजारमा कारोबार रकम भने घटेको छ । बटम बिन्दुमा झरेपछि सुस्त बढेर मंगलबार बजार बन्द भएकाले बुधबार बजारमा थप वृद्धि हुने आंकलन लगानीकर्तामा छ । बुधबारको बजारले नेप्से कता जान्छ भन्ने बाटो देखाउनेछ ।

मंगलबार नेप्से २.०६ अंकले बढेर सूचक १९६०.८१ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक ०.५१ प्रतिशत, फ्लोट इन्डेक्स ०.०७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ । मंगलबार ३१४ कम्पनीका ५० लाख ६४ हजार ३८ कित्ता सेयर ३८ हजार २१४ पटक खरिद बिक्री भएका छन् । कारोबार रकम २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रुपैयाँमा समेटिएको छ । जुन अघिल्लो दिनभन्दा ७५ करोड रुपैयाँ कम हो । सोमबार नेप्से १५.६२ अंकले घटेर २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९८० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएको १३ उपसमुहगत सूचकमध्ये चार ओटा बढेका छन् भने ९ ओटा घटेका छन् । लघुवित्त सर्वाधिक २.४३ प्रतिशतले बढेको छ भने अन्य ०.७०, विकास बैंक ०.३१ र म्युचुअल फन्ड ०.३० प्रतिशतले बढेको छ । उता आजको बजारमा ब्यापार सर्वाधिक १.०९ र फाइनान्स १.०२ प्रतिशतले घटेको छ । बाँकी पनि राताम्मे बनेका छन् ।

आज दिनभरमा २ अर्ब १४ करोड बढीको सेयर कारोबार भएकोमा पोखरा फाइनान्सको सर्वाधिक ८ करोड ३२ लाख २३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १८ लाख, हिमालयन रि इन्स्योरेन्सको ४ करोड ३० लाख र नेपाल फाइनान्सको ४ करोड २७ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ ।  कारोबार कित्ताका आधारमा पोखरा फाइनान्सको १ लाख २९ हजार ९७१ कित्ता किनबेच हुँदा संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको १ हजार ५२७ पटक किनबेच भएको हो ।

आज हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर ८५६ हजार ७० रुपैयाँ पुगेको छ । यस्तै इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशतले बढेर १२८० रुपैयाँ र समता घरेलु लघुवित्तको ७.४६ प्रतिशतले बढेर ८७९ रुपैयाँ पुगेको छ । सबैको लघुवित्तको सेयर ७.०४ प्रतिशतले बढेर ८५५ रुपैयाँ पुग्दा एनआईसी एशिया ग्रोथ फन्ड–२ को ६.८७ प्रतिशतले बढेर ८ रुपैयाँ ९ पैसा पुगेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९ अर्ब ११ करोड ५८ लाख ८८ हजार रुपैयाँमा पुगेको छ । सोमबारको कुल बजार पुँजीकरण ३१ खर्ब ५ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।