तारागाउँ रिजेन्सी होटलको नाफा करिब ४०% बढ्यो, एक अर्ब नाघ्यो आम्दानी

तारागाउँ रिजेन्सी होटलको नाफा करिब ४०% बढ्यो, एक अर्ब नाघ्यो आम्दानी

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सञ्चालन आम्दानी एक अर्ब नाघ्दा खुद नाफा करिब ४० प्रतिशतले बढेको छ । पर्यटकीय चहलपहल बढेसँगै होटलहरुको आम्दानी र नाफामा आशातित सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार तारागाउँले ३३ करोड ३२ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलको व्यवस्थापकिय कार्य कुशलता तथा प्रतिकुल परिस्थितिमा काम गर्न सक्ने कार्य कौशलता, रणनीतिक कार्यक्षमता र व्यवस्थापकिय सुझबुझका साथ व्यावसायिक कार्य सम्पादन गर्ने कार्य दक्षताका कारण कम्पनीको मौज्दात, कार्यशील पूँजी र तरलताको अवस्था राम्रो अवस्थामा देखिएका छन् ।

तेस्रो त्रैमासको माघ, फागुन र चैत्र महिना गरी तीन महिनामा होटलमा पर्यटकीय व्यवसायिक गतिविधि तथा क्रियाकलापहरु सुधारात्मक रहेको छ । अध्यागमन विभागले प्रकाशित गरेको तथ्यांक अनुसार अघिल्लो आवको तेस्रो त्रैमासमा २ लाख २७ हजार ७५७ जना पर्यटकहरु भित्रिएकामा चालु आवमा ३ लाख ४ हजार ६९३ जना पुगेको छ । जसमा जनवरी महिनामा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्च महिनामा जम्मा १ लाख २८ हजार १६७ जना पर्यटकहरु हवाई मार्फत नेपाल भित्रिएको तथ्याङ्क छ । हरेक महीना बढ्दो क्रममा रहेको र यस वर्ष पर्यटकहरुको संख्या ३३.७८ प्रतिशतले वृद्धि भएको देखिँदा होटलको अक्युपेन्सि दर अघिल्लो वर्षको सोहि अवधिको तुलनामा वृद्धि भएको हो । आगामी दिनहरुमा नेपालको पर्यटकीय क्षेत्रमा सुधार आउँदै गए यस होटलको व्यवसायमा आउंदो त्रैमासिक अवधिमा पनि थप सुधार आउने होटलको अनुमान छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९० करोड ६१ लाख ७६ हजार रहेकोमा समीक्षा अवधिमा ११.४२ प्रतिशतले बढेको हो । विवरण अनुसार तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलको अन्य आम्दानी १९.१२ प्रतिशत बढेर १३ करोड २ लाख र कुल आम्दानी १२.२५ प्रतिशत बढेर १ अर्ब १३ करोड ९९ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ रहेको होटलको वार्षिक प्रति सेयर आम्दानी ५ रुपैयाँ ७७ पैसाले बढेको छ । वार्षिक २२ रुपैयाँ ६५ पैसा इपीएस पुगेको होटलको प्रति सेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०८ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ३५.०३ गुणा छ ।

आर्थिक वर्ष २०८०/८१ को आगामी त्रैमासिक अवधिमा कम्पनीको व्यावसायिक गतिविधिहरुको सन्दर्भमा कम्पनीले कुल आय वृद्धि गर्नका लागि अपनाउनुपर्ने सबै व्यवसायिक रणनीतिक संयन्त्रहरुको समुचित सदुपयोग गर्ने होटलको योजना छ । अक्युपेन्सी बढाउने, उपलब्ध अत्याधुनिक प्रविधिका साधनहरुको प्रयोग लगायतका सबै उपायहरु अबलम्बन गरी आम्दानी अभिवृद्धि गर्ने होटलले तयारी गरेको छ । होटल सञ्चालन लागतमा मितव्ययीता, नियन्त्रणात्मक कार्य योजना अनावश्यक खर्च कटौतिलाई जारी राख्दै विविध बजार खण्डमा सुक्ष्म प्रवेश गर्दै आफ्ना व्यावसायिक गतिविधिहरुको कुशलता पुर्वक सञ्चालन जारी राख्ने तारागाउँले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार १४ : ३४ बजे