अपर तामाकोशी हाइड्रोपावर १ अर्ब ३९ करोड नोक्सानीमा, साढे ६ अर्बको बिजुली बिक्री

0
Shares

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब ३९ करोड १३ लाख ५८ हजार रुपैयाँ नोक्सानी ब्यहोरको छ । गत आवको सोही अवधिमा २ अर्ब २ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले ३१.२३% ले नोक्सानी सुधार गरेको हो ।

दोलखाको लामाबगरमा रहेको राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावरले ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा भने ५.७४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा पनि कम्पनीले कुल ६ अर्ब १७ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।

चालु आवको ९ महिनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि, हकप्रदबाट ऋण चुक्ता हुँदा वित्तीय लागतमा आएको कमीले नोक्सानी घट्दै गएको हो ।  ९ महिनामा कम्पनीको वित्तीय खर्च ८.१४ प्रतिशत घटेर ४ अर्ब ६९ करोड ७५ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७.६४ प्रतिशत बढेर ३ अर्ब २८ करोड ६४ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३ अर्ब ५ करोड ३१ लाख ८३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको वित्तीय आम्दानी ४९.१८ प्रतिशत घटेर १ करोड ८७ लाख २८ हजार रुपैयाँमा झरेको छ ।

चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १२ रुपैयाँ १९ पैसा बढेर ६३ रुपैयाँ २५ पैसा कायम भएको छ । कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । यस्तै रिनेन्ड अर्निङ्ग ८ अर्ब ६९ करोड ६४ लाख ऋणात्मक रहेको छ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई हाल पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ ।

सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी चैत्र मसान्तसम्ममा सरकारको चार तथा अन्य संस्थाहरुको नौं किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले हासकट्टि खर्च तथा ब्याज खर्च अत्यधिक वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ । तर, त्यस अनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले चालु आर्थिक वर्ष र अझै केही वर्षमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।