पाँच अर्बको नागरिक बचतपत्र बिक्रीमा, ८ प्रतिशत ब्याज पाइने

0
Shares

सरकारले यहि वैशाख ३० गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८६ बिक्रीमा ल्याएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वार्षिक ८ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्रीमा ल्याएको हो।

वैशाख ३० गतेदेखि जेठ ३० गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी असार ४ गतेका लागि तोकिएको छ । जसको सावाँ भुक्तानी २०८६ असार ४ गते रहेको छ ।

वार्षिक ८ प्रतिशत व्याज दिने उक्त बचतपत्रको व्याज भुक्तानी ६र६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ ।

बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ । सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।