बढ्दो तरलताले निक्षेप संकलनको ब्याजदर झनै घट्यो, शुक्रबार पनि ३५ अर्ब खिच्दै केन्द्रीय बैंक

0
Shares

नेपाल राष्ट्र बैंकको अल्पकालिन ब्याजदर बढाउने प्रयास असफल भएको छ । केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन बिहीबार ५० अर्ब तरलता खिच्दा पनि निक्षेप संकलनको ब्याजदर झनै घटेको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कम छ । रेमिट्यान्स आप्रबाहमा आएको सुधारले वित्तीय प्राणलीमा निक्षेप बढेको अवस्था छ भने कर्जा लगानी स्थीर नै छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरिदै गएको छ । वित्तीय प्रणलीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदरमा अस्वभाविक उतार चढाव आउने भएपछि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन मार्फत तरलता खिच्ने र ब्याजदरलाई स्थायीत्व दिने काम गर्छ ।

तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रण गर्नका लागि कन्द्रीय बैंकले बिहीबार ५० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । बिहीबार केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक वित्तीय संस्थाले ७१ अर्ब ८० करोड रुपैयाँ बरावरको आवेदन दिएका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले ब्याजदर घटेर केन्द्रीय बैंकले माग गरे भन्दा धेरैको आवेदन परेको थियो ।

तर, केन्द्रीय बैंकले ५० अर्बको निक्षेप लिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त निक्षेपको अधिकतम ब्याजदर ३.०१०० र न्यूनतम २.६९९९ प्रतिशत ब्याज दिएको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर २.८४६३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यसअघिको भन्दा थोरै हो । यसअघि जेठ १ गते निष्कासन भएको निक्षेप संकलनको औसत ब्याजदर ३.०१६४ प्रतिशत कायम भएको थियो ।

केन्द्रीय बैंकले ब्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रणका लागि ब्याजदर करिडोर कार्यान्वयन गर्दे आएको छ । उक्त करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर तल्लो सीमाको रुपमा निक्षेप संकलनको ब्याजदर तोकेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भइ अन्तर बैंक दर करिडोरको तल्लो सीमा भन्दा कम भए निक्षेप संकलन मार्फत ब्याजदर बढाउछ ।

पछिल्लो समयमा अन्तर बैंक दर करिडोरको तल्लो सीमा भन्दा कम भएपछि बिहीबार ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको हो । बिहीबारको ५० अर्बको निक्षेप संकलनले समेत ब्याजदर नबढाएपछि शुक्रबारका लागि ३५ अर्बको निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिन अवधिको निक्षेप संकलन गरेको भएपनि शुक्रबार भने ७ दिनका लागि मात्र निक्षेप संकलन गर्ने जनाएको छ ।

वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा पनि प्रदा गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले बुधबार १५ अर्ब २० मात्र स्थायी निक्षेप राखेका थिए । तर, बिहीबार गत आइतबार राखेको ७२ अर्ब ९० करोड स्थायी निक्षेप परिपक्क भएपछि प्रणालीमा तरलता अधिक हुन पुग्यो र केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्नुपर्ने अवस्था आयो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।