बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ फिर्ता लिने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि जेठ ११ गते केन्द्रीय बैंकले मौद्रिक उपकरण निक्षेप संकलन मार्फत रकम खिच्ने भएको हो ।

रेमिट्यान्समा आएको सुधार र आयातमा कमी हुँदा बैंकिङ्ग प्रणालीम निरन्तर रुपमा निक्षेप वृद्धि भैरहेको छ । तर कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको अवस्था छ ।

निक्षेप संकलन उपकरणको भोलि जेठ ११ गते शुक्रबार मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। चौध दिन अवधि रहेको निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

उच्च निक्षेपका कारण लामो समयदेखि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल छ । ब्याजदर करिडोर अन्तरगत अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ ।

शुक्रबार सहित जेठमा मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत पाँचौं पटक बैंकिङ प्रणालीबाट कुल १ खर्ब ४० अर्ब रुपैयाँ प्रशोचन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेठ २०८१, बिहीबार १७ : ३७ बजे