पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा, भण्डारण गरेको अन्न धितो राखेर कर्जा


पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साको बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यस्तो सेवा सुरु गरेको हो ।

कम्पनीले पर्साको वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिए । यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको जानकारी दिँदै उनले भने, “सबैभन्दा बढी क्षमताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौं, पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५/१५ हजार मेट्रिक टन क्षमताका छन् ।”

कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमास लगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ । यी भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले गर्न सक्ने उनले बताए । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिन्छ । यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने अपेक्षा कम्पनीले गरेको छ ।

भण्डारणस्थलको अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य हुने, बिक्री नभएको अवस्थामा कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर आइरहेको सन्दर्भमा सुरक्षित भण्डारण गृहको सान्दर्भिकता उच्च रहेको महाप्रबन्धक सत्यालले बताए ।

कम्पनीले बिक्रीका लागि आएको अन्नको लिलाम बढाबढको सेवा पनि उपलब्ध गराउने छ । यसबाट पनि कृषक नै लाभान्वित हुने कम्पनीको दाबी छ । कम्पनीले उच्च प्रविधिबाट कृषि वस्तुको प्रशोधन, भण्डारण गरिएका उत्पादन धितोमा वित्तीय संस्थाबाट ऋण लिने व्यवस्था, कृषकका लागि बीउ, मल, औषधी, उपकरण उपलब्ध गराउने लगायत सेवा दिने सत्यालले बताए ।

कार्यक्रममा कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता बढेको बताए । सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य तोकिरहेकाले खरिद गरेको खाद्यान्न भण्डारका लागि निजीक्षेत्रले तयार पारेका भण्डारणगृहको उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सरकारले यस्ता भण्डारणमा लगानी गर्नुभन्दा निजीक्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने बताएका उनले पोस्ट हार्भेस्टमा ३० प्रतिशतसम्म अन्न खेर जाने भएकाले त्यसलाई जोगाउन यस्ता पूर्वाधार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने बताए ।

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड किसानका अन्न भण्डारण, कृषि बजारीकरण र व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदामसम्बन्धी आवश्यकता परिपूर्ति गर्न कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ सालमा स्थापना भएको हो ।

कम्पनीले कृषिजन्य उत्पादनको सुरक्षित भण्डारण, प्रशोधन, लिलाम बढाबढ सेवा, कृषिजन्य उत्पादन धितो राखी ऋणको प्रबन्ध गर्नुका साथै किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले सुनसरीको गढी, पर्साको बिरुवागुठी र कपिलवस्तुको वीरपुरमा अन्न भण्डारण गृह सञ्चालन गर्ने योजना रहेकोमा हाल सुनसरी र पर्सामा सेवा विस्तार गरिसकेको र छिट्टै कपिलवस्तुमा सेवा दिन तयारी गरिरहेको छ । हाल कम्पनीको कुल भण्डारण क्षमता ५५ हजार मेट्रिक टन छ । स्वचालित र साइलो प्रविधिमा आधारित नेपालकै पहिलो तथा ठूला यी भण्डारणगृहमा मकै, गहुँ, भटमास जस्ता अनाज भण्डारण गर्न सकिन्छ ।

कम्पनीका भण्डारण गृहमा चीन र जर्मनीबाट आयातित अत्याधुनिक प्रविधि खाद्यान्न सफा गर्ने, केलाउने, सुकाउने र प्रयोगशालामा गुणस्तर परीक्षण गरी मानकीकरण गर्ने सेवा पनि उपलब्ध छन् । चिलर प्रयोग गरी खाद्यान्नको तापमान नियन्त्रण गरिने भएकाले प्रशोधित अन्नले बजारमा उचित मूल्य पाउने कम्पनीको विश्वास छ ।

कम्पनीले उपलब्ध गराउँदै अएको एकीकृत कृषि सेवा र मन्डी बजार व्यवस्थापन सुविधाले कृषि उपजको बजारीकरणमा पनि योगदान गरेको कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।