कारोबारी हाबी हुँदा सेयर बजारमा करेक्सन, बजेटको पर्खाइमा लगानीकर्ता

0
Shares

गत साता चार कारोबार दिनमै झण्डै ११३ अंकले उकालो लागेको सेयर बजारमा यो साताको पहिलो दिन आइतबार २२ अंकको करेक्सन आएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलबार प्रस्तुत गर्र्दैछ, सेयर लगानीकर्ता बजेटको पर्खाइमा रहेकाले पनि बजारमा करेक्सन आएको छ ।

आइतबार २२.१४ अंकले घटेर बजार २१०९.३४ बिन्दुमा झरेको छ। २९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ। २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

पछिल्ला दिनहरुमा लगातार बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजार प्रभावित भएको हो । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से घटेपनि यस दिन एक स्टकको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिटि होटलको सयरमूल्य ८.२४ प्रतिशत बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ८.०९ प्रतिशत बढेको छ। कारोबारमा आएको इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण कारोबार बढेको हो। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।