सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता बढाएको छैन । आगामी वर्षको बजेटले तलब सुविधा तथा वृद्धभत्ता वृद्धिबारे कुनै घोषणा नगरेपछि विद्यमान तलब र भत्ता नै कायम हुने भएको हो ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुबै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलबभत्ता नबढाएको सरकारले सामाजिक सुरक्षा भत्तालाईसमेत यथावत राखेको बताए । सार्वजनिक बजेटमा सरकारले कर्मचारीको तलबभत्ता बढाउने अपेक्षा गरिएको भएपनि अर्थमन्त्री वर्षामान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा तलब भत्ता वृद्धि नगरिएको घोषणा गरे । अर्थमन्त्री वर्षमान पुनले ज्येष्ठ नागरिक लगायत लक्षित समूहलाई सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताए । वृद्ध भत्ताबापत मासिक ४ हजार रुपैयाँ दिने गरिएको छ । पछिल्लोपटक आर्थिक वर्ष २०७८–७९ को बजेटले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको थियो ।
सरकारले ज्येष्ठ नागरिकसहित अपांगता भत्ता, एकल महिना भत्तासहित बाल पोषण भत्ता दिंदै आएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि मात्रै आगामी आवमा १ खर्ब १६ अर्ब विनियोजन गरिएको पुनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा संघीय सरकारले सबै सामाजिक सुरक्षातर्फका सबै कार्यक्रमका लागि २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो । सरकारले ज्येष्ठ नागरिकसहित अपांगता भत्ता, एकल महिना भत्तासहित बाल पोषण भत्ता दिंदै आएको छ । पछिल्ला वर्षमा सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो वर्षमा ५.५ प्रतिशतले वृद्धि भई २०८० फागुनसम्म ३८ लाख २७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३२७ थियो ।
यस्तै सरकारले कर्मचारीको तलब सुविधा समेत बढाएको छैन । सरकारले पछिल्लो पटक २०७९ साउन १ देखि लागू हुनेगरी कर्मचारीको तलब बढाएको थियो । आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । सो समयमा निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो । अहिले सरकारी कर्मचारीको तलब न्यूनतम २६ हजार ३४८ रुपैया देखि अधिकतम् तलब ८२ हजार ३५९ रुपैयाँसम्म छ ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१—८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
