मधेस प्रदेशमा जेठ १९ र २० गते “श्रमाधान रोजगार मेला” आयोजना गरिँदै


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि शुरु हुने भएको छ ।

जनकपुरको उद्योग बाणिज्य संघमा सञ्चालन हुने मेलाको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नेछन् । मेलाको बारेमा जानकारी दिन बिहिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए ।

त्यस्तै, मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । “मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ , ” उनले भने ।

मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उनले बताए । सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे । श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताएका छन् । मेलामा सहभागिताका लागि ३५ स्टल राखिनेछ । हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी दिए ।

नेपाल उद्योग परिसंघ सिआइएनका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उदेश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए । “हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नु परेको अवस्था छ । त्यो भिडभाडलाई कम गर्न मेला सहयोगी बन्नेछ । हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौं । हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौें,” उनले भने । तर, सीपको अभावले श्रमिकले रोजगारी पाउन नसकेको उनले बताए ।

जनकपुरमा सञ्चालन हुन गै रहेको मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दैछन् । सहआयोजक नेपाल उद्योग परिसंघ रहेको छ । शनिबार र आइबार मेला सञ्चालन हुनेछ ।

मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै सुरू भइसकेको छ । मेला ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ ।

मधेश प्रदेशको जनकपुमा १९ र २० गते सञ्चालन हुनेछ । गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।