नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा जेठ २५ गते आयोजना हुने भएको छ ।
काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्समा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्न लागिएको महासंघले जानकारी गराएको हो ।
महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने बताए । साथै, महाधिवेशनमा नेपालभरबाट करिब एक हजारभन्दा बढी व्यवसायी सहभागी रहने उनको भनाइ छ ।महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने छ।
महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायमा लगानीपछिको नाफा घट्दो अवस्थामा रहेको बताए । उनले अहिले महँगो रेटका मोबाइल सेट ग्राहकको रोजाइमा परिरहेको भएपनि भन्सार छलीका मोबाइल भित्रिँदा ब्यबसायीहरु मारमा परेको बताए ।

उनले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजस्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने महासंघको माग छ ।
यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
