एनसीएचएल र नेप्सको एकीकृत कारोबार जेठ २१ गतेदेखि, चुक्ता पुँजी १ अर्ब ६ करोड माथि

एनसीएचएल र नेप्सको एकीकृत कारोबार जेठ २१ गतेदेखि, चुक्ता पुँजी १ अर्ब ६ करोड माथि

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को जेठ २१ गतेदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ ।  नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर कायम हुने गरी १ः०.२८ को सेयर आदानप्रदान अनुपातमा नेप्सलाई एनसीएचएलले प्राप्ति गरेर एकीकृत कारोबार थाल्न लागेको हो ।

दुई कम्पनी बीच गत चैत २२ गते सम्पन्न भएको अन्तिम सम्झौता र वैशाख १३ गते दुवै संस्थाको विशेष साधारण सभाबाट प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारको मिति तय भएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती दिइसकेको छ ।

प्राप्तिपश्चात ‘नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)’ को नामबाट एकीकृत सुरु हुनेछ । प्राप्तिको प्रस्ताव सम्बन्धित नियमनकारी निकायहरुबाट स्वीकृती भएसँगै ती दुबै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । एनसीएचएल र नेप्सको चुक्ता पुँजी क्रमशः १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्तिपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ कायम भएको छ ।

एकीकृत कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–२८ कमलादीमा रहनेछ । एकीकृत कारोबार सुरु हुने भएकाले डाटा माईग्रेशन लगायतका कार्य गर्दा दुवै कम्पनीको कुनै पनि भुक्तानी सेवा अवरुद्ध नहुने सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवद्र्धन गरिरहेका दुबै कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका थिए । बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिँदै आएको छ ।

एनसीएचएलको गत आर्थिक वर्ष २०७९–८० मा खुद मुनाफा ३७ करोड ६८ लाख रुपैयाँ र नेप्सको खुद मुनाफा ६ करोड ४६ लाख रुपैयाँ थियो ।

विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र तथा यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न साझेदारीले सहयोग हुने बताइएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफल मूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न प्राप्तिले उल्लेखिय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पूँजी वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेठ २०८१, शुक्रबार १४ : १७ बजे