इकाई बिक्रीको चार महीनापछि बल्ल ‘एनआईबिएल स्टेबल फन्ड’ को इकाई नेप्सेमा सूचीकृत

इकाई बिक्रीको चार महीनापछि बल्ल ‘एनआईबिएल स्टेबल फन्ड’ को इकाई नेप्सेमा सूचीकृत

‘एनआईबिएल स्टेबल फन्ड’ को इकाई बिक्री बन्द भएको चार महीनापछि बल्ल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  इकाई बाँडफाँडको एक हप्ताभित्र नेप्सेमा सूचीकृत गर्न सकिने इकाई धितोपत्र बजारको नियामक निकाय प्रमुखबिहीन भएपनि लगानीकर्ताको लगानीलाई समेत वेवास्ता गर्दै चार महीनापछि मात्रै सूचीकृत भएको हो ।

‘एनआईबिएल स्टेबल फन्ड’ को योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहायक कम्पनीको रुपमा रहेको उक्त क्यापिटलमा साबिक एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केटस् लिमिटेड एक आपसमा मर्जर तथा प्राप्ती भएर एनआईएमबि एस क्यापिटल कायम भएको थियो । जनशक्ति र आकारमा ठूलो भएपनि क्यापिटलले सर्वसाधारणमा निष्कासन गरेको इकाई सूचीकरणमा भने बेइज्जत नै हुनेगरी चार महीना समय लगाएको हो ।

नेप्सेमा जारी सूचना अनुसार ‘एनआईबिएल स्टेबल फन्ड’ को ११ करोड ३३ लाख इकाई जेठ १७ गते बिहीबार सूचीकरण गरिएको हो । फन्डले २०८० माघ २ गतेदेखि १० रुपैयाँ अंकित दरमा एक अर्ब मूल्यको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । मागन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म योजनाको आकार बढाउन पाइने प्रावधान अनुसार थप १ करोड ३३ लाख कित्ताईकाई थपेर सूचीकरण भएको हो ।

जारी कुल १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई तथा एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई सुरक्षित राखिएको थियो । यस्तै ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याइएको थियो ।

यसअघि पाँच वटा म्युचुअल फन्ड सञ्चालन गरिसकेको एनआईएमबि एस क्यापिटल लिमिटेडले यो छैटौं म्युचुअल फन्ड हो । क्यापिटलले एक खुलामुखी र चार ओटा बन्दमुखी प्रकृतिको फन्ड सञ्चालन गरेकोमा एकको अवधि समाप्त भई परिपक्क समेत भैसकेको छ । क्यापिटलले पहिलो खुलामुखी फन्ड एनआईबिएल सहभागिता फन्ड सहित तीन वटा बन्दमुखी फन्डमा योजना व्यवस्थापको भूमिका निर्वाह गरिरहेको छ ।

एनआईबिएल स्टेबल फन्ड’ १२ वर्ष अवधिको बन्दमुखी प्रकृतिको सामुहिक लगानी कोष योजना हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ जेठ २०८१, शुक्रबार १४ : ४५ बजे