सहकारीको रकम अपचलनमा पक्राउ परेका सिबी लामा सार्वजनिक

सहकारीको रकम अपचलनमा पक्राउ परेका सिबी  लामा सार्वजनिक

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामालाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

लामाविरुद्ध कान्तिपुर बचत तथा ऋण सहकारी लिमिटेडमा रहेको बचतकर्ताको १ अर्ब ५१ करोड ठगी गरेको भन्दै ८५२ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही दिनअघि पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सिबी लामा भनिने ४९ वर्षे चन्द्रबहादुर तामाङ काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ घर भई हाल ललितपुरको बालकुमारीस्थित वस्टेर्न अपार्टमेन्टमा बस्दै आएका थिए । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

पक्राउ परेका लामाका साथबाट प्रहरीले सामसुङ कम्पनीको दुई थान मोबाइल, नोकियाको एक थान मोबाइल र ६ वटा सीम बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारीविरुद्ध पनि गत भदौमा ५४ जनाले उजुरी दिएका थिए । उनीविरुद्ध सो सहकारीमा भएको १२ करोड रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । सो सहकारीको रकम अपचलनका सम्बन्धमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

पत्रकारहरुसँग लामाले आफूमाथि झुटो आरोप लागेको बताए । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए । उनले भने- ‘मास्क खोलि दिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ, तपाईहरुले सत्य-तथ्य समाचार सम्प्रेषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेठ २०८१, आइतबार १८ : १९ बजे