ढुंगाखानीमा एक अर्ब भ्रष्टाचार, गोदावरीका मेयरसहित १४ जनाविरुद्ध मुद्धा

0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। अख्तियारले एकै कसुरमा ५ वटा मुद्दा दायर गरेको छ । उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ ।

गोदावरीका लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा मेयर महर्जनसहित भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । मुद्दा पर्नेमा मेयर महर्जन, ४ कर्मचारी र ९ जना क्रसर सञ्चालक छन् ।

आयोगले मेयर महर्जनसहित उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु बिश्वराज मरासिनी, कृष्णप्रसाद जैसी,प्रविन कोइराला र वीरेन्द्रदेव भारतीलाई समेत प्रतिवादी बनाएको छ । यस्तै राजस्व समितिका सदस्य सचिव यमलाल बेलवासे, राजस्व शाखा प्रमुखहरु श्रीराम आचार्य र श्रीकण्ठ घिमिरे, माली निर्माण सेवाका प्रकाश माली, कर्मा कन्स्ट्रक्सनका रवि महर्जन, सप्तपथ कन्स्ट्रक्सनका मदन केसीलगायत १४ जनालाई प्रतिवादी कायम गरेर सोमबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

आयोगले २०७५ देखि २०८० सम्म पाँच आर्थिक वर्षमा खनिजजन्य पदार्थ निकासी करमा भ्रष्टाचार गरेको आरोप लगाएको छ । मेयर महर्जनसहित आरोपीहरुले प्रदेश सरकारले तोकेको निकासी कर नौ रुपैयाँ लिनुपर्नेमा दुई रुपैयाँ ७५ पैसामात्र लिएर प्रदेश तथा स्थानीय सरकारलाई घाटा र व्यक्तिगत फाइदा लिएको अभियोगपत्रमा दाबी गरेको छ । उनीहरुले सरकारी दररेट कम गरेर १ अर्ब ४ करोड ८७ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।