मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दलद्धारा अवरुद्ध


आज सुरूभएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ । करिब दुई महिनापछि प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ । बैठक सुरू हुनासाथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरुद्ध गरेको हो । जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताए ।

“त्यो माग पूरा गर्नुपर्छ र समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौँ”, उनले भने ।

सुदूरपश्चिम सरकार विस्तार अन्योलमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातवरण बन्न नसकेको बताए । “हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,” उनले भने ।

समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, “अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौं ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति एमालेको समर्थन

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।

संसदीय दलले आज धनगढीमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा सकारात्मक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएर आएको बताए ।

“यो विगतका वर्षको तुलनामा प्रगतिशील छ । सिद्धान्त र प्राथमिताका आधारमा नीति तथा कार्यक्रम आएको छ । यही कार्यक्रमका आधारमा भोलिको बजेट अगाडि बढ्नेछ”, उनले भने । हिजोका दिनमा नीति तथा कार्यक्रम मुख्यमन्त्री केन्द्रित भएर आउने गरेकामा यसपटक फरक तरिकाले आएको भन्दै रावलले स्वागत गरे ।

आइतबार सुदूरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेठ २०८१, सोमबार १७ : २४ बजे