बजेटले निर्माण उद्योगलाई उपेक्षा गर्यो, अर्थतन्त्र चलायमान हुन सक्दैन: निर्माण व्यवसायी


नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले निर्माण उद्योगलाई उपेक्षा गरेको जनाएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा महासंघले बजेट निर्माण तथा उद्योगमैत्री नभएको ठहर गरेको हो । कार्यक्रममा महासंघका महासचिव रोशन दाहालले महासंघले लामो समयबाट उठाउँदै आएको भुक्तानीका बारेमा बजेटमा केहि उल्लेख नभएबाट शिथिल अवस्थामा रहेको वर्तमान अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।

महासंघले बजेट सार्वजनिक हुनुअघि सम्बन्धित निकायहरू समक्ष पेश गरेका सुझावका धेरै बुँदाहरू कार्यान्वयन नभएको बताएको छ ।

‘निर्माण उद्योग मैत्री बजेटका लागि महासंघले अर्थमन्त्रीसँग प्रत्यक्ष रुपमा पटक पटक भेट्न खोजेको प्रयास सफल नभएबाट कृषिपछि सबैभन्दा बढी रोजगारी सिर्जना गरी मुलुकको अर्थतन्त्रमा अत्यन्त महत्वपूर्ण हिस्सा ओगटेको निर्माण क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको महसुस महासंघले गरेको छ’ अन्तरक्रियामा महासचिव दाहालले भने ।

निर्माण व्यवसायीहरुले बिल पेश गरिसकेका र पेश गर्न बाँकी गरी करिब ६० अर्ब रुपैयाँ भुक्तानी राज्यले गर्न नसकिरहेको अवस्थामा समग्र अर्थतन्त्र नै चापमा परेको महासंघको भनाइ छ । तर यो तथ्यलाई नजरअन्दाज गर्दै भुक्तानी सम्बन्धी समस्या समाधान गर्ने उपायका बारेमा बजेट वक्तव्य मौन रहनु ठूलो बिडम्बना भएको उनले बताए ।

‘यसरी अरबौं भुक्तानी नहुँदा राज्यबाट व्यवसायीले विगतमा पाउने गरेका विविध खालका सहुलियतका बारेमा समेत बजेट मौन भएबाट व्यवसायीहरू ठूलो मारमा परेको व्यहोरा अवगत गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, मूल्य समायोजन बारेमा केही सम्बोधन नहुनु, सरकारी कमी कमजोरीका कारण भएका ठेक्काको कार्वाही सम्बन्धमा केही उल्लेख नहुनु, विविध कारणले कामै हुन नसकेका ठेक्काहरू सुविस्ताका आधारमा अन्त्य गरिनु पर्ने विषय उल्लेख नहुनु लगायतका कारण बजेटले निर्माण व्यवसायीहरूलाई राहतको सट्टा आहत दिएको महासंघको ठहर छ ।

पाँच प्याकेजको व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषय नसमेटिनु, नेपाल सरकार र महासंघबीच विगतमा भएका सहमति कार्यान्वयनका विषय सम्बोधन नहुनु, पाँच, दश र पन्ध्र शय्याका अस्पतालका लागि ६० अर्ब बजेट विनियोजन हुनु पर्नेमा मात्र १५ अर्ब विनियोजन हुनु पनि बजेटका नकारात्मक पाटाहरू भएको महासंघले बताएको छ ।

त्यस्तै बजेटमा उल्लेख भए अनुसार लुब्रेकेटिङ आयलमा १ प्रतिशत र बेश आयलमा १० प्रतिशत अन्त शुल्क महसुल लाग्ने व्यवस्थाका कारण निर्माण व्यवसाय झन् महंगो हुनेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गर्नु, नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्नु बजेटको सकारात्मक पक्ष भएको महासंघले बताएको छ । बजेटमार्फत लिइएको ६ प्रतिशतको महत्वाकांक्षी आर्थिक बृद्धि हासिल गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण उद्योग मैत्री हुने गरी आगामी मौद्रिक नीति खुकुलो बनाउन पनि महासंघले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ जेठ २०८१, मंगलबार १५ : १९ बजे