गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न, ५ हजार बढीले अवलोकन गरे

0
Shares

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा दुईदिनसम्म चलेको मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको आयोजनामा आयोजित मेलामा सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रका सरोकावालाहरुको सहभागीता रहेको थियो ।

मेलालाई होटल संघ नेपाल (हान) ले संयोजन गरेको थियो । भने सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

मेलामा विभिन्न खालका ४२ वटा स्टलहरु राखिएका थिए । मेलाबाट रोजगारीका लागि पाँच सय भन्दा बढिले आवेदन फारम भरेका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका थिए ।

मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेला भव्यताका साथ सम्पन्न भएको बताए । मेलामा रोजगारी दिने र रोजगारी खोज्नेहरुबीच पुलको काम गरेको र मेलाको उद्देश्य पुरा भएको बताए ।

मेलामा रोजगारीका लागि फाराम भरेकाहरुलाई पछि सम्बन्धित कम्पनीले बोलाउनेछन् । र सोही आधारमा उनीहरुले रोजगारी पाउने सम्बन्धित कम्पनीहरुले जनाएका छन् । विभिन्न कम्पनीहरूले ३५० भन्दा बढि क्षेत्रमा कर्मचारी माग गरेका थिए। जसमा एक हजार तीन सय भन्दा बढीले आवेदन दिएका थिए।

मेलामा विभिन्न विषयमा ६ वटा श्रमाधान सम्वाद कार्यक्रम राखिएको थियो। मेलामा पहिलो दिन श्रम आप्रवासनस्कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अबसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सम्वाद आयोजना गरिएको थियो । त्यस्तै दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा सम्वाद आयोजना गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले मेलाले तत्कालै रोजगारी दिने नभई एउटा अभियानको रुपमा अघि बढेको बताएका थिए ।

आगामी वर्ष तीनै तहका सरकार मिलेर एकै पटक गर्ने र त्यो निकै प्रभावकारी हुनेमा आफुहरु विश्वस्त रहेको उनको भनाई थियो ।

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ । मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण मानिने श्रम मन्त्रालयका उप सचिव तथा गण्डकी प्रदेश मेला संयोजक शारदा भण्डारीले बताइन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।