आरोपित व्यक्तिमाथि पूर्वाग्रहबाट मुक्त भएर छानबिन गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आजको विशेष समयमा सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे।

नेता शर्माले विसं २०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने आफ्नो पार्टी तयार रहेको बताए । महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुन सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको बताए ।

उनले गिरीबन्धु टिस्टेटका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसले जग्गा बेचेको जस्ता आरोपयुक्त अभिव्यक्ति दिएकामा चिन्ता व्यक्त गर्दै त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्न गृहमन्त्री समक्ष आग्रह गरे । उनले कांग्रेसलाई आलोकतान्त्रिक दल भन्ने हैसियत अन्य दलको नहुने जिकिर गरे । देशको सूचना विदेशीलाई बेचेको आरोप कांग्रेसका सांसदलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट लगाइएकामा आपत्ति जनाउँदै उनले भने, “देशको गृहमन्त्रीले गोली हान्न आदेश दिने हो, हावामा गोली हान्ने होइन ।’’

महामन्त्री शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने समेत बताए । शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने भन्दै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरे । स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेठ २०८१, बिहीबार १३ : ०५ बजे