मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । जनमतले सतिस कुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ । सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन् । यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडि सारेको छ ।
मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । यससँगै उनी पदमुक्त भएका छन् । कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भन्ने अर्थात विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए । मुख्यमन्त्री यादवले १७ महिनाको अवधिमा पाँच पटक प्रदेश सभाबाट विश्वासको मत लिनुपरेको थियो । चार पटकसम्म उनी विश्वासको मत प्राप्त गर्न सफल भएपनि यसपटक भने उनले विश्वासको मत पाएनन् ।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मतदान गरेका थिए । विश्वासको मतको विपक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी लगायतका दलहरुले मतदान गरेका थिए । नेपालको संविधानको धारा १८८ को उपधारा ३ अनुसार प्रदेश सभाबाट विश्वासको मत पारित हुन नसकेको खण्डमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ ।
जसपा नेपालको महाधिवेशनको तयारी तीव्र
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ । यही जेठ २७ गते जनकपुरधामको तिरहुतिया गाछीमा महाधिवेशन उद्घघाटन कार्यक्रम रहेको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । जसपा नेता रामाशिष यादवका अनुसार महाधिवेशनका लागि प्रायःसर्वसम्मतले प्रतिनिधि चयन गरिएका छन् । मधेश प्रदेशका जिल्लामा घरदैलो अभियान गरी प्रचारप्रसार गरिँदैछ । महाधिवेशनमा एक हजार प्रतिनिधि रहने बताइएको छ । महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।
पाँच सय स्वयंसेवक र पर्यवेक्षक रहने महाधिवेशन तयारी समितिले जनाएको छ । एक हजार पाँच सय जनाका लागि आवास र भोजनको प्रबन्ध मिलाइएको बताइएको छ । जसपाको नयाँ विधान अनुसार पार्टीमा अध्यक्ष सहित १७ पदाधिकारी रहने छन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने सम्भावना रहेको बताइएको छ । मधेशी जनअधिकार फोरमदेखि नै उपेन्द्र यादव हालसम्म अध्यक्ष रहेका छन् । पार्टी पटक–पटक गरी १४ पटक विभाजन भइसकेको छ ।
कार्यकारिणी समितिका सदस्य विजय कुमार यादवले लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने भएकाले प्रतिस्पर्धा हुनु अस्वभाविक नभएको बताए । “अध्यक्ष लगायत अन्य पदमा पनि प्रतिस्पर्धा हुनसक्छ”, उनले भने, “चुनावको सम्भावना छ ।” सर्वसम्मतले नै केन्द्रीय समिति चयनको प्रयास हुने उनले बताए ।
जसपा नेपालको कार्यकारिणी समितिमा हाल आठ जना मात्र छन् । बाइस जनामध्ये अधिकांश पार्टी छाडेका छन् । पछिल्लो पटक अशोक राईको नेतृत्वमा पार्टीका ७ सांसद सहित पार्टी विभाजन भएको थियो । त्यसविरुद्ध अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी जेठ २५ गते तोकिएको छ ।
महाधिवेशनलाई सर्वोच्च अदालतबाट आउने फैसलाले पनि प्रभाव पार्ने देखिएको छ । विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय रद्ध भए अलग्गिएका पनि जसपा नेपालमा नै समाहित हुनुपर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
