नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेटगरी भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु पेश गरेको छ । सो छलफलमा चौधरीले भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गर्दै वर्तमान बजेटमा सवारी साधनहरुमा मूल्य अभिवृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरुले मुल्य अभिवृद्धि कर लिने वा नलिने अन्यौलता सिर्जना भएको बताए ।
सोही छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले जेठ २१ गते मालवस्तु छुटाई लैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउनु हुदै सयम थपका लागि आग्रह गरेका थिए । उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु प्रस्तुत गर्दे टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल वस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनपर्ने माग राखे । यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए ।
महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भन्दै भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हुँदा व्यवसायमा असर परिरहेको बताएका थिए । सोही क्रममा महासचिव उपे्रतीले एक्जीम कोडको नविकरण अवधि १ वर्षबाट ५ वर्ष पुर्याउने व्यवस्थाका लागि समेत आग्रह गरे ।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउनु हुदै एअरपोर्ट कुरियर मार्फत पनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्ने धारणा राखे । नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन शुरक्षासंग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नु पर्ने धारणा राखे ।
छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याहरुका विषयमा आफू जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउँदै सवारी साधनमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए । त्यसैगरी आउदो आषाढ मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरि दिन अनुरोध गरे । उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
