श्री डिष्टिलरीले आईपीओ ल्याउने

0
Shares

मदिरा व्यवसायमा आईएसओ ९००२ बाट प्रमाणित हुने देशको पहिलो उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सर्वाजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले आईपीओ बिक्री गर्ने मुख्य प्रस्तावसहित आगामी असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार कम्पनीले काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे सभा आह्वान गरेको छ ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।

यसअघि श्री डिष्टिलरी लिमिटेडको २०८० फागुन ४ गते सम्पनन भएको वार्षिक साधारण सभाले प्रिमियममा मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । असार ११ गतेको विशेष साधारण सभाका लागि आइतबार जारी भएको सूचनामा भने प्रिमियमको विषयमा उल्लेख गरिएको छैन् ।

श्री डिष्टिलरी सन् १९८० मा स्थापना भएको नेपाली मदिरा उद्योगमा प्रख्यात नाम हो । सुरुमा ४ वटा ब्राण्डको मात्रै स्वदेशी मदिरा उत्पादन गर्दै आएको श्री डिस्टिलरीले व्यापारको वृद्धिसँगै प्रतिस्पर्धासँगै रेक्टिफाइड स्पिरिट बाहेक एक्स्ट्रा न्यूट्रल अल्कोहल पनि उत्पादन गर्न थालेको थियो । हाल श्री डिष्टिलरीसँग स्वदेशी मदिरा र ह्विस्की र रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड रहेका छन् । माउन्ट एभरेष्ट ह्विस्की र किंग्स प्राइड विदेशी मदिरा क्षेत्रका प्रिमियम ब्रान्डहरू हुन्। माउन्ट एभरेष्ट ह्विस्की पनि जर्मनीमा समेत निकासी भएको ब्राण्ड हो ।

स्वदेशी मदिराको प्रमुख ब्रान्ड कारभानले पनि उल्लेखनीय बजार हिस्सा हासिल गर्न सफल भएको छ । श्री डिस्टिलरी मदिरा व्यवसायमा आईएसओ ९००२ बाट प्रमाणित हुने देशको पहिलो उद्योग हो । श्री डिस्टिलरी भन्दा पहिले नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रमा मदिरा व्यवसाय गर्ने कुनै पनि कम्पनीले आईएसओ ९००२ प्रमाणिकरण पाएका थिएन ।

आफ्नो उत्पादन बढाउने बाटोमा रहेको कम्पनीले मोरिसन बोमोर डिस्टिलर्स लिमिटेड, टी एन्ड ए म्याकक्लेल्यान्ड लिमिटेड, ग्लासगो, स्कटल्याण्ड (युके) सँग सम्झौता गरेको छ । श्री डिष्टिलरीले स्थान मदिराको बजारमा अग्रस्थान रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।