आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित, मन्त्री अर्यालले गरे सम्बोधन

0
Shares

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी’ मा नेपाल सर्वसम्मतिले निर्वाचित भएको छ । तीन बर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको हो । उपसदस्यको रुपमा नेपालको २०२४ देखि २०२७ सम्मा कार्यकाल रहनेछ । जसमा सरकार, रोजगारदाता र टे«ड युनियनको प्रतिनिधत्व रहनेछ ।

जेनेभामा जारी आईएलओको ११२ औ अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो । मतदानमा एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो । मतदानमा १८७ मुलुकले सहभागिता जनाएको थियो । जसमध्ये नेपालले १८५ मत प्राप्त गरेको थियो ।

आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१ औ सत्रबाट नेपालले जिम्मेवारी पाउनेछ । उपसदस्यको हैसियतमा नेपालले श्रम स्तरलाई अगाडी बढाउन, मर्यादित कामको प्रवद्र्धन गर्न र आईएलओमा लोकतान्त्रिक र समावेशी निर्णय प्रक्रियामा त्रिपक्षीय सहयोग अभिवृद्धि गर्न योगदान गर्नै अवसर पाउनेछ ।

नेपालले आजको श्रम बजारमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न विशेष गरी आप्रवासी श्रमिकका लागि नौतिक भर्ना, मर्यादित कामका सिद्धान्तहरु, कार्यस्थलको सुरक्षा र स्वास्थ्य, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका चुनौतीहरुलाई सम्बोधन गर्न त्रिपक्षीय निकायसँग आवाज थप्न र सहकार्य गर्न सक्षम हुनेछ ।

‘गभर्निङ बडी’ अन्तराष्ट्रिय श्रम संगठनको कार्यकारी शाखा हो, जसले संगठनको नीति र योजनाहरु निर्धारण गर्न, अन्तराष्ट्रिय श्रम सम्मेलनको लागि एजेण्डा तय गर्न, प्रस्तावित कार्यक्रमहरु र सम्मेलनमा बजेट पेश गर्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा त्रिपक्षीय संरचनामा ५६ सरकार, ३३ रोजगारदाता सदस्य र ३३ कार्यकर्ता सदस्य छन् । नेपालले २१ फेुब्रअरी २०२४ मा एसिया प्यासिफिक ग्रुपमा आईएलओ ‘गभर्निङ बडी’ को उपसदस्यको लागि उम्मेदवारी घोषण गरेको थियो ।

२०२४ को २० मार्च र १६ अप्रिलमा भएको मध्य तथा दक्षिण एसिया उपक्षेत्रका राजदूत स्तरीय बैठकपछि नेपाल मध्य र दक्षिण एसिया उपक्षेत्रबाट इरानसँगै, अष्ट्रेलिया, इराक, लाओमा सम्मिलित हुने सहमतीको उम्मेदवारहरुको रुपमा उभिएको थियो । एसिया प्यासिफिक क्षेत्रबाट ‘गभर्निङ बडी’ को सहायक सदस्यको रुपमा मलेसिया, फिलिपिन्स र कतार रहेका छन् ।

सन् १९६६ मा अन्तराष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) को पूर्ण बैठकलाई सम्बोधन गरेका छन् । मंगलबार साझ सम्मेलनलाई उनले सम्बोधन गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपाल सरकारले घरेलु रोजगार प्रबद्र्धन दशक घोषणा गरेको जानकारी गराए । त्यस्तै, नेपाली श्रमिकको श्रम सम्बन्धी सबै खालका समस्या एकद्धार प्रणालीबाट समाधान गर्न श्रमाधान रोजगार योजना शुरु गरेको पनि बताए । त्यस्तै, अनौपचारिक इकाई र श्रमलाई औपचारिक बनाउने तर्फ नेपाल सरकार केन्द्रित रहेको बताए ।

त्यस्तै, आईएलओको नवौं महाधिवेशनलाई अनुमोदन गर्ने योजनामा त्रिपक्षीय सहमती भएको उनले बताए । साथै स्वतन्त्रता सम्बन्धी महासन्धि ८७, श्रम निरीक्षण सम्बन्धी महासन्धी ८१, र जबरजस्ती श्रम महासन्धीको २०१४ प्रोटोकललाई अनुमोदन गर्नमा केन्द्रित रहेको मन्त्री अर्यालले जानकारी गराए ।

‘मौलिक सिद्धान्त र काममा अधिकार सम्बन्धी संशोधित आईएलओ घोषण प्रति सदस्य राष्ट्रको रुपमा प्रतिबद्धता अटल छ । हामीले कामको परिवर्तनशील संसारमा श्रम प्रशासन प्रतिवेदनबाट नेपालसँग सम्बन्धित टिप्पणीहरुलाई पनि स्वीकार गर्छौ र सम्बोधन गर्छौ,’ उनले भने । शसक्त महिला, समृद्ध नेपाल कार्यक्रम मार्फत आईएलओ अन्य संयुक्त राष्ट्र संघ, संस्थाहरु र युरोपेली संघको महासन्धि नम्बर १११ संग नजिकबाट सहकार्य गरि रहेको पनि उनले बताए ।

त्यस्तै, मन्त्री अर्यालले श्रमाधान मन्त्री स्तरीय सम्मेलनमा सबैलाई निमन्त्रण समेत गरे । ‘यो सम्मेलन हामीले सन् २०२४ को अन्त्यसम्ममा आयोजना गर्ने योजना बनाएको छौ । हाम्रो प्रगतिको बारेमा छलफल गर्न र सहकार्यका साथ एउटा रोडम्याप बनाउनको लागि हाम्रो सुन्दर देशमा तपाईहरुलाई स्वागत गर्छु,’ उनले भने।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० जेठ २०८१, बुधबार  १५ : १२ बजे