साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्जर तथा प्राप्तीको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । केन्द्रीय बैंकले जेठ २९ गते दुई लघुवित्तबीचको गाभ्ने गाभिने (मर्जर) कार्यका लागि अन्तिम स्वीकृति प्रदान गर्दै कम्पनीलाई पत्राचार गरेको हो ।
मर्जरपछि दुई लघुवित्त “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्नेगरी राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएको हो । साधना लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय गोर्खाको हरमटारीमा र सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं १, डुम्रेमा रहेको छ । मर्जरपछि केन्द्रीय कार्यालय चितवनमा रहने भएको छ ।
एक बराबर एक अनुपातमा मर्जरमा गएका २०८१ बैशाख १२ गते बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार ३४५ रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
