मौद्रिक नीति समीक्षाले घर जग्गाको कारोबार २२.८५ प्रतिशतले बढ्यो, चार अर्ब ४३ करोड राजश्व संकलन


मौद्रिक नीति समीक्षाले घरजग्गाको कारोबार २२.८५ प्रतिशतले बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनु्सार जेठमा ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो ।

वैशाखमा ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो । जेठ पहिलो साता आएको मौद्रिक नीति समीक्षाले व्यक्तिगत रूपमा घरजग्गाको किन्ने वा कारोबर गर्नेलाई थप सहज बनाएको छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउनका लागि चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको थियो । त्यसमा परिमार्जन गर्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत कर चुक्ता प्रमाणपत्रको आधारमा घरजग्गा खरिदका लागि सबै कर्जामा कर्जा आम्दानी अनुपात बढाएर ७० प्रतिशत पु¥याएको छ । उक्त व्यवस्थासँगै घरजग्गा कारोबार गर्नेहरुले आफ्नो आम्दानीको ७० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाएका छन् । यसअघि आम्दानीको ५० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाउने व्यवस्था रहेको थियो । राष्ट्र बैंकको यस्तो नीतिले घरजग्गा कारोबार बढेको व्यवसायीहरु बताउँछन् ।

यस्तै, आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पु¥याइएको छ । यस्तै रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ । यस्तै राष्ट्र बैंकले धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा (लोन टु भ्यालु रेसियो) पनि उपत्यकाभित्र ३० प्रतिशतसम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरेको छ । यसले पनि घर जग्गाको कारोबारलाई प्रोत्साहन गरेको घर जग्गा व्यवसायीहरु बताउँछन् ।

विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो । वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो ।

यो कारोबार गत वर्ष जेठको तुलनामा पनि ११ प्रतिशतले बढी हो । गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो । घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ । जेठमा घरजग्गा कारोबारबाट सरकारलाई ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ। बैशाखको तुलनामा ४७ करोड ५४ लाख बढी राजस्व संकलन भएको हाे । यो बैशाखको तुलनामा १२.३० प्रतिशतले बढी हो । वैशाखमा घरजग्गा कारोबार बापत ३ अर्ब ८६ करोड ३८ लाख रूपैयाँ राजस्व प्राप्त भएको थियो ।

इनरुवाबाट सबैभन्दा धेरै लिखत पारित

जेठमा सबैभन्दा धेरै लिखत पारित भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ । उक्त मालपोतबाट जेठमा २ हजार ३७६ लिखत पारित भएको विभागले जनाएको छ । यस्तै इनरुवापछि सबैभन्दा धेरै लिखत पारित हुने मालपोत कार्यालय धनुषा, जनकपुरधाम हो । जनकपुरधाम मालपोत कार्यालयबाट २ हजार ३४८ लिखत पारित भएको छ । यस्तै, झापाको भद्रपुर मालपोत कार्यालयबाट १ हजार ९८१, मोरङको बेलबारी मालपोत कार्यालयमा १ हजार ९५८ लिखत पारित भएको छ ।

यस्तै, भूमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट १ हजार ७२९ वटा लिखत पारित भएको भने सर्लाहीको मलंगवा मालापोतबाट १ हजार ५७८, पर्सा मालपोत कार्यालयबाट १ हजार ५५४ वटा, महात्तरीको जलेश्वर मालपोत कार्यालयबाट १ हजार ५०८ वटा लिखत पारित भएको छ ।

यसैगरी बाराको कलैया मालपोतबाट १ हजार ३७० लिखत पारित हुँदा कैलालीको धनगढी मालपोतबाट १ हजार ३३५ लिखत पारित भएको छ भने भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलबस्तुबाट १ हवार ३१३ लिखत पारित भएको छ ।

यसैगरी, मालपोत कार्यालयहरु काभ्रेपलान्चोक, झापाको दमक, दाङको तुलसीपुर, ललितपुरको लगनखेल, बाँकेको नेपालगञ्ज, रुपन्देही, सिराहाको लहान, भक्तपुर विराटनगरको मोरङबाट १००० बढी लिखत पारित भएका छन् ।

लगनखेल मालपोतबाट सबैभन्दा धेरै राजस्व संकलन

जेठमा कुल ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जेठमा सबैभन्दा धेरै राजस्व ललितपुरको लगनखेल मालपोतबाट संकलन भएको छ । लगनखेल मालपोतबाट ४० करोड ४९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । लगनखेल पछि धेरै राजस्व भक्तपुर मालपोतबाट उठेको छ । भक्तपुर मालपोत कार्यालयबाट ३० करोड ६३ लाख २६ हजार राजश्व उठेको हो । यस्तै, काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयबाट २७ करोड २३ लाख २२ हजार संकलन हुँदा काठमाडौंको चाबहिल मालपोत कार्यालयबाट २६ करोड ६० लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सबैभन्दा धेरै लिखत पारित भएको सुनसरीको इनरुवा मालपोतबाट जेठमा २४ करोड ५६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ भने कास्कीबाट १२ करोड ८६ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै चितवन मालपोतबाट १२ करोड १८ लाख ९१ हजार, काभ्रेपलाञ्चोक मालपोत कार्यालयबाट १२ करोड ३ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै उपत्यका बाहिरको मालपोत कार्यालय धनगढी, कैलालीबाट ११ करोड ६२ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।