सोमबारदेखि नै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, ट्यांकर मजदुरसँग भयो सम्झौता


नियुक्ती सहित तलबका साथै विभिन्न किसिमका माग राखेर आन्दोलनरत ट्याङ्कर मजदुरहरुको आन्दोलन स्थगित भएको छ । पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सोमबार भएको छलफलमा सहमति जुटे पछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

आन्दोदन स्थगित भएसँगै आजदेखि नै पेट्रोलिमय पदार्थको आपूर्ति सहज गराउन मजदुरहरु तयार भएका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा आफ्ना माग पुरा हुने भएपछि आन्दोलनरत मजदुरहरु पेट्रोलिमय पदार्थको आपूर्ति गर्न तयार भएका हुन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गर्ने र सो समितिले १५ दिन भित्र पेट्रोलियम ढुवानी मजदुरका माग सम्बोधन गर्ने सम्झौता भएको हो । उनका अनुसार उल्लेखित सम्झौतासँगै आजैदेखि नै पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति पनि भएको छ ।

सोमबारको सहमतिसँगै निगमको थानकोट डिपोबाट निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थ ढुवानी हुनेछ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोक्दै मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिन माग गरेका थिए । साथै उनीहरुले नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न पनि माग गरेका थिए ।

स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी हटाउनुपर्ने, वार्षिक नवीकरणको व्यवस्था हटाउनु पर्ने, टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनु पर्ने लगायतका माग मजदुरहरुले अघि सारेका छन् । उल्लेखित मागहरु १५ दिन भित्र सम्बोधन हुने आश्वासनसँगै मजदुरहरुको आन्दोलन रोकिएको हो ।

मजदुरहरुको आन्दोलनका कारण आइतबारदेखि नै उपत्यकाका सबै पेट्रोल पम्पहरु बन्द भएका थिए । सोमबार निजी पम्पहरु बन्द भएपछि सरकारी पम्पहरुमा उपभोक्ताको लाइन लागेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।