गौरा कन्स्ट्रक्सनले आर्थिक वर्ष २०७९/८० मा ३१ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आव २०७८/७९ मा ३६ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी समीक्षा अवधिमा १२.६० प्रतिशत घटेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १२ करोड ७० लाख र आव २०७६/७७ मा १ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् १९७६ बाट एक निर्माण फर्मको रूपमा स्थापना भएको गौरा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडमा प्रबन्ध निर्देशक कुमार पौडेलको सबैभन्दा धेरै ४० प्रतिशत सेयर हिस्सा छ । कम्पनीमा दुई कम्पनी र चार जना प्रवर्द्धकहरूको व्यक्तिगत हिस्सेदारी छ । सन् १९८५ डिसेम्बरदेखि सञ्चालनमा आएको नेपाल सरकारको वर्गीकरण मापदण्ड अनुसार ‘ए’ वर्गको ठेकेदारको रूपमा वर्गीकृत गरिएको छ । यसले मुख्यतया भवन, सडक र जलविद्युत परियोजनाहरू निर्माण गर्दछ ।
इक्रा नेपालले गौरा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको ८ करोड ६१ लाख रुपैयाँको दीर्घकालीन ऋण सीमालाई ‘इक्रा एनपी एलबीबी माइनस’ रेटिङ पुनः पुष्टि गरेको छ। यस्तै कम्पनीको छोटो अवधिको १३ करोड रुपैयाँको फन्ड बेस्ड लोन र १ अर्ब १५ करोड रुपैयाँ बराबरको नन् फन्ड बेस्ड लोनलाई ‘इक्रा एनपी ए–४’ रेटिङ पुनः पुष्टि गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
