आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपिओ बेच्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

एक कार्यक्रममा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पुँजी रकम १ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार शेयर पूँजी बराबरको सेयर निष्काशन गर्ने सम्झौता भएको हो । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५७ हजार ४०० कित्ता शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो ।

बिशेष गरी चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा, व्यापार गर्र्ने क्षेत्रमा आवश्यक न्युनतम सुविधाहरुको कमी हुँदै गएको तथा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजीका रुपमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना भएको विज्ञप्तिमा उल्लेख छ ।

लगानीको वातावरण बनाएर बैंकसँगको सहकार्यमा काठमाण्डौंको बल्खुमा ३६ रोपनीभन्दा बढि जग्गा खरीद गरि व्यापारीक भवन निर्माण गरिसकेको जनाएको कम्पनीले २ हजार १५२ पसल रहने र सिभिल तर्फको काम ८६ प्रतिशतभन्दा बढी काम पुरा भईसकेको जनाएको छ ।

आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।