साठी मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

साठी मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार १ हजार ५३० मिटर गहिराईको पानीमा सञ्चालन हुने कुलेखानी जलासयको सतह घटेर १ हजार ४८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ ।

पछिल्लो समय पानी नपरेकाले जलविद्युत्को महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए । विशेष गरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथी हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ ।

समुद्री सतहबाट १ हजार ४८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । पछिल्लो समयमा कुलेखानी जलविद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उनले जानकारी दिए ।

प्रमुख भट्टका अनुसार सोमबारसम्म १ हजार ४८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो । गए राती पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ । उनका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपतकालीन् समयमा मात्रै बिजुली उत्पादन गरिने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार १८ : ३६ बजे