क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।
आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । दिपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो ।
टी—२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शीर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
त्यस्तै यस अघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौं स्थानमा रहेका छन् ।

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना
नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ ।
जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।
नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।
त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए । आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ ।
केन विलियम्सनले छोडे कप्तानी
न्युजील्यान्डले जारी टी-२० विश्वकपको सुपर–८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् र केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ ।
केनले यस अघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका छन् । केन बाहेक लुकी फर्गुसनले पनि न्यूजील्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गरेका छन् ।
न्यूजील्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत यो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ । न्यूजील्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
केनले आफुले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताए । उनले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताए । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताए ।
उनले भनेका छन्- 'न्युजील्यान्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सधैं मेरो प्राथमिकतामा रहेको छ । तर, क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।'
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
