सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट, फाइनान्सका लगानीकर्ता भने मख्ख

0
Shares

सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ । बुधबार २ अंकको सामान्य वृद्धि सहित बन्द भएकोमा बिहीबार १०.४४ अंक घटेर बजार बन्द भएको हो । इन्ट्रा डे कारोबारमा नेप्से सर्वाधिक १६.६२ अंक बढेर २०९५.३९ बिन्दुमा पुगेको भएपनि बिक्री चाप बढेपछि आज बजार २०६८.३१ बिन्दुमा अडिएको हो ।

बजार घटेपनि अधिकांश फाइनान्स कम्पनीको मूल्य बढेपछि यस समुहका लगानीकर्ता भने मख्ख परेका छन् । पन्ध्र फाइनान्समध्ये आज एघार ओटाको मूल्य बढेको छ । तीन आटाको स्थिर रहँदा बेष्ट फाइनान्सको मूल्य मात्र सामान्य घटेको छ । बजार सुस्त भएपनि फाइनान्स बुधबार २.६२ प्रतिशत र बिहीबार १.८२ प्रतिशत गरी दुई दिनमा कुल ४.४४ प्रतिशतले उकालो लागेपछि यसका लगानीकर्ता मख्ख भएका हुन् ।

बिहीबार बढेका २ ओटा उपसमुहगत सूचकमध्ये फाइनान्स सर्वाधिक १.८२ प्रतिशतले बढेको हो भने म्यचुअल फन्ड ०.१८ प्रतिशतले बढेको छ । घटेका ११ मध्ये सबैको गिरावट एक प्रतिशतभन्दा कम छ । होटल तथा पर्यटनमुलक सर्वाधिक ०.९५ प्रतिशत, विकास बैंक ०.८५ प्रतिशत, जीवन बीमा ०.८१ प्रतिशत र ब्यापार ०.७१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको आज सर्वाधिक १७ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ७४ लाख, सिईडिबी हाइड्रोपावरको ९ करोड ९९ लाख, पोखरा फाइनान्स ८ करोड ९६ लाख र गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख रुपैयाँ बढीको धितोपत्र किनबेच भएको छ ।

आजको बजारमा कालिका लघुवित्तको मुल्य सर्वाधिक ७.७१ प्रतिशतले बढेर ११६० रुपैयाँ पुगेको छ । यस्तै बाराही हाइड्रोपावरको ६.६३ प्रतिशत, सनराइज ब्लूचिप फन्ड ५.९३, गुडबिल फाइनान्सको ५.४६, ग्रीन भेञ्चर लिमिटेडको ५.०९ प्रतिशत र नेपाल फाइनान्सको ५ प्रतिशतले बढेको छ ।

उता बिहीबारको बजारमा कुथली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । ९.२८ प्रतिशतले मूल्य घटेको कम्पनीको मूल्य १५४५ रुपैयाँमा झरेको छ । यसैगरी भगवती हाइड्रोपावरको ५.४७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त ५.३०, स्वाभिमान लघुवित्तको ५.७९ र मनकामना स्मार्ट लघुवित्तको प्रतिकित्ता सेयर मूल्य ४.७९ प्रतिशतले घटेको छ ।

बिहीबार बजार घटेपनि कारोबार भने बुधबारको तुलनामा ४६ करोड ६४ लाख रुपैयाँले बढेको छ । यसदिन ३०६ कम्पनीका ८६ लाख ६३ हजार कित्ता ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ ककायम भएको छ । अघिल्लो दिन बुधबार ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजारमा खरिद बिक्री भएको थियो । आज नेप्सेमा कारोबार भएका ३०६ मध्ये ७८ ओटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २११ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको स्थिर छ ।

आज नेप्से परिसूचक ०.५० प्रतिशतले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ । सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबै सामान्य घटेका छन् । यीनको गिरावट क्रमशः ०.७३, ०.५२ र ०.७७ प्रतिशत छ । बिहीबार कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७९ अर्ब ७३ करोड ६८ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।