गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ नसकिएपछि ‘हेर्दा हेर्दै’ मा

0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकेर सुनुवाई गरिएको थियो । आजको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ । अर्को सुनुवाई असार १६ गते हुने भएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाईकै क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।

इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो ।

महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।

रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ असार २०८१, शुक्रबार  १७ : ५० बजे