मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३८ करोड बिगो मागदाबी

मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३८ करोड बिगो मागदाबी

मुख्य सचिव डा. वैकुण्ठ अर्याल सहित १२ जना विरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अन्तःशुल्क स्टिकर छपाइमा घोटलामा ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ बिगो मागदाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै आयोगले आइतबार मुख्यसचिव अर्याल सहित आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेश शाक्य (हाल अर्थ मन्त्रालयका सहसचिव), सहसचिव टंकप्रसाद पाण्डे, शक्तिप्रसाद श्रेष्ठ, विष्णुप्रसाद गौतम, रविन्द्रप्रसाद पौडेल, विकल पौडेल, सफल श्रेष्ठ, गणेश विक्रम शाही, हरिवल्लभ घिमिरे र प्रिन्ट सेल कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका आयुक्तहरुको शुक्रबार बसेको बैठकले उनीहरु विरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो । अख्तियारको टोली आइतबार दिउँसो एक झोली ढड्डा बोकेर विशेष अदालत पुगेको थियो ।

मुद्दा दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा परेका छन् । नेपालको निजामती इतिहासमा बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको सम्भवतः यो पहिलो घटना हो । अख्तियारले मुद्दा दर्ता गरेलगत्तै मुख्यसचिव अर्याल भने पदबाट निलम्बन हुने जानकारी पाएपछि आइतबार बिहानै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हाजिर गरेर बाहिरिइसकेका छन् । टेरामक्स खरीद प्रकरणमा अनुसन्धान चलिरहेकै बेला उनीमाथि अन्तःशुल्क स्टिकर छपाइमा घोटला भएको आरोप लगाएको हो । मदिरामा प्रयोग हुने यस्तो स्टिकर छपाइ गर्न आन्तरिक राजस्व विभागले बिना प्रतिस्पर्धा नै सुरक्षण मुद्रण केन्द्रलाई जिम्मा दिएको थियो ।

सुरक्षण मुद्रण केन्द्र सरकारी संस्था हो । यो सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत छ । तत्कालिन अवस्थामा अर्याल सञ्चार सचिव रहेका थिए । विसं २०७९ असोजमा आन्तरिक राजस्व विभागले केन्द्रलाई प्रतिस्टिकर ६० पैसाका दरले छपाइ गर्न दिएको थियो । तर केन्द्रले ८७ पैसाका दरले छपाइ गर्न स्वदेशी प्रिण्टिङ कम्पनी ‘प्रिन्ट सेल’लाई जिम्मा दियो । ठेक्काका क्रममा जम्मा ३ वटा कम्पनी प्रतिस्पर्धामा आएको र त्यसमध्ये दुईटा कम्पनी अयोग्य घोषित भएका थिए । जबकी, अघिल्ला ठेक्काहरुको तुलनामा यो रकम असाधारण महँगो पर्न गयो । २०७८ भदौ २७ मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले प्रतिस्टिकर २५ पैसामा छाप्ने सम्झौता गरेर काम गरेको थियो । त्यसअघि २०७५ मा इन्डोनेसियाको सरकारी कम्पनी पेरम्पेररीले त जम्मा १५ पैसाको दरमा स्टिकर छापेको थियो ।

उक्त घोटलाका मुख्य योजनाकार भने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल रहेको स्रोतको दाबी छ । पौडेलले पछिल्लो समय सञ्चार मन्त्रालय अन्तरगतको ठेक्कापट्टामा ठूलो कमिसनको ‘डिल’ गर्दै आएका थिए । उनी यसअघि नै भ्रष्टाचार तथा अकुत सम्पत्ती आर्जन सम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति थुनामा छन् । पौडेल विरुद्ध एमआरपी पासपोर्ट, सेक्युरिटी प्रिण्टिङ, पेमेन्ट गेटवे, एकीकृत इमेल प्रणाली, इम्बोस्ड नम्बर प्लेट, अन्तःशुल्क स्टिकर लगायत सूचना प्रविधिका ठूला खरीद ठेक्कामा ‘सेटिङ’ गरेर भ्रष्टाचार गरेको आरोप छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार १६ : ५२ बजे