अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारले बैंकहरुमा थुप्रिएको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहजीकरण गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक नीतिमा कहाँ कति सुधार गर्नुपर्ने हो त्यसअनुसार गर्ने उल्लेख गरे ।
अर्थमन्त्रालयले बैंकमा भएको ६ अर्ब लगानीयोग्य रकमलाई निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी नराख्ने उनको भनाई छ । आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताउँदै अर्थसचिव मरासिनीले सरकारले पारदर्शी रूपमा नै बजारलाई चलायमान बनाउने बताए । उनले अर्थतन्त्र चलायमान बनाउनको लागि बजेटबाट केही नीति अघि बढाइएको र त्यस्ता नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउने बताए ।
मौद्रिक नीति पूर्वको छलफल कार्यक्रममा सचिव मरासिनीले व्यवसायिक वातावरण निर्माण गर्न स्थिर तथा अनुमान योग्य कर नीति आवश्यक रहेको महसुस गरेको उनले बताए । आफूहरू त्यसमा केन्द्रित भएको उनको भनाई छ ।
आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा चलाइएका करका दरले सरकारको नीति विश्वासयोग्य नभएको प्रतिक्रिया निजी क्षेत्रले दिएपछि अर्थसचिव मरासिनीको यस्तो जवाफ आएको हो ।
आगामी वर्षको बजेट ल्याउने क्रममा सरकारले प्राथमिकीकरण गरेर रकम विनियोजन गरेको उनको दाबी छ। सिर्जित दायित्व अघि बढेका परियोजनालाई बजेट केन्द्रित गरिएको उनको भनाइ छ। ठूलो बजेटको दबाब हुँदाहुँदै पनि सरकारले करका दरहरू धेरै नबनाउने नीतिका साथ सानो आकारको बजेट ल्याइएको उनले बताए।
सरकारले अहिलेसम्म पुँजीगत खर्च ४६ प्रतिशत भन्दा माथि गर्न नसकेको बताउँदै सचिव मरासिनीले राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको उल्लेख गरे । बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरूमा दिने उनको भनाई छ । कार्यक्रममा अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका उनले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
