चार अर्ब पाँच करोड खर्च गर्न अर्थको अख्तियारी

0
Shares

अर्थ मन्त्रालयले ४ अर्ब ५ करोड खर्च गर्न महालेखा नियन्त्रक कार्यालय मार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।

गृह मन्त्रालय लगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक लगायतमा थप बजेट निकासा माग भई आए अनुसार मन्त्रिस्तरिय निर्णयबाट अर्थमन्त्री वर्षमान पुनले आवश्यक निर्णय गरेका हुन् ।

अर्थसचिव मधुकुमार मरासिनीका अनुसार सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरुबीचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको हो ।

जसअनुसार अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्च गर्नेगरी महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको सचिव मरासिनीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।