मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारले २१ गते नै विश्वासको मत लिने तयारी गरेको जनाएको हो ।
संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले असार २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री सिंहले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरूको समर्थन चाहिन्छ । प्रदेश प्रमुखको कार्यालयमा बुहमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।
त्यस बखत मुख्यमन्त्री सिंहले एमाले, माओवादी, जनमत,एकीकृत समाजवादी, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थनसहित हस्ताक्षर पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

प्रदेश सभामा एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल सङ्घीय समाजवादीका एक जना प्रदेश सांसद छन् । मधेस प्रदेशमा अहिले ६ दल मिलेर सरकार गठन भएकाले विश्वासको मत पाउने पक्कापक्की छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
