भुगर्भ सिमेन्टले जारी पुँजीको २० प्रतिशत आईपीओ ल्याउने

भुगर्भ सिमेन्टले जारी पुँजीको २० प्रतिशत आईपीओ ल्याउने

भुगर्भ सिमेन्ट लिमिटेडले जारी पुँजीको २० प्रतिशत सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० सय रुपैयाँ दरमा १२ करोड ६२ लाख ५० हजार रुपेयाँ बराबरको १२ लाख ६२ हजार ५०० कित्ता आईपीओ बिक्रीमा ल्याउने सम्झौता गरेको हो ।

साधारण सेयरको सार्वजनिक निष्काशन गर्न कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पुँजी ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत बराबरको सेयर सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा बिक्री गर्ने भएको हो ।

कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडबीच असार १३ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।  केयर रेटिङ्स नेपाल लिमिटेडले भुगर्भ सिमेन्ट लिमिटेडको दीर्घकालीन बैंक ऋण सुविधालाई ‘केयर एनपी बी–माइनस’ र अल्पकालीन बैंक ऋण सुविधालाई ‘केयर एनपी ए–४’ रेटिङ दिएको छ ।

नारायणचौर नक्सालमा केन्द्रीय कार्यालय रहेको यस कम्पनी २०७३ मंसिर १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा विधिवत दर्ता गरी २०८० असार ७ मा पब्लिक कम्पनीका रुपमा परिणत भएको हो । कम्पनीले “गर्भै देखि बलियो” नाराका साथ कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–६ मा सिमेन्ट कारखाना तथा नरपानी÷खाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ ।

अर्घाखाँची जिल्लाको नरपानी र खाँचीकोटमा रहेको खानी नेपाल सरकारले नै ग्लोबल टेण्डर मार्फत बिक्री गरेको उत्कृष्ट चूनढुङ्गा खानी करिव ८ वर्ग किलोमिटरमा फैलिएको छ । कारखानाबाट खानीको दूरी करिब ७५ किमि रहेको र आईईई प्रतिवेदन अनुसार दैनिक करिब ३ हजार २०० टनका दरले वार्षिक ९ लाख ६० हजार मेट्रिक टन उत्खनन् क्षमता रहेको छ । उक्त क्षेत्रमा चूनढुङ्गाको भौगर्भिक सञ्चिती १ करोड ७८ लाख ९८ हजार १०० मेट्रिक टन र माइनएवल १ करोड ६१ लाख ८ हजार ३०० मेट्रिक टन रहेको छ । कपिलवस्तु जिल्लाको शिवराज ६ मा करीव ११ बिघा जग्गामा उद्योगले आफ्नो उत्पादन गर्दै आएको छ । कम्पनीले उच्च गुणस्तरको ओ.पि.सी (भुगर्भ सिमेन्ट) तथा पि.पि.सी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ ।

कम्पनीको वार्षिक उत्पादन क्षमता ६० हजार मेट्रिक टन ओ.पि.सी सिमेन्ट तथा १ लाख ५० हजार मेट्रिक टन पि.पि.सी सिमेन्ट रहेको छ । यस कम्पनीको बजार क्षेत्र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाण्डौं उपत्यकामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार १७ : २५ बजे