
श्रममन्त्री डिपी अर्यालले नेपालीहरुको विदेशीनुपर्ने बाध्यता अन्त्य गर्नमा सरकार प्राथमिकताका साथ लागेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले रोजगारीमा रहेका नेपालीहरुलाई फर्किएर नेपालमा नै रोजगार गर्न सक्ने वातावरण बनाउन सरकार प्रयासरत रहेको बताएका हुन् ।
मन्त्री अर्यालले भने, ‘हामी सकेसम्म नेपालीलाई विदेश जानै नपरोस् भनेर काम गरिरहेका छौँ । तर बाध्यताले विदेशीएर फर्किएका नेपालीलाई पुन विदेशीनुपर्ने बाध्यता अन्त्य गर्नमा सरकार प्राथमिकताका साथ लागेको छ ।’,
यस्तै मन्त्रलयले उद्यमीहरुको मनोबल उच्च पार्नका लागि बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका विभिन्न क्षेत्रमा लगानी गरेका नेपाली उद्यमीलाई पुरस्कृत गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट नेपाल फर्केर नेपालमा उद्यम गरिरहेका ८ उद्यमीलाई पुरस्कृत गरेको हो ।
मन्त्रालयले ७ उद्यमीहरु उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ भने गाउँपालिका ३ झापाका चन्द्र प्रकाश बस्नेतलाई उत्कृष्ठ उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । उनी एग्री सेन्टर झापा प्रालिका सञ्चालक हुन् । उनलाई मन्त्रालयले एक लाख पचास हजार नगदका साथ सम्मान गरेको हो ।
त्यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनेहरुमा गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा,नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा रहेका छन् । मन्त्रालयले सात जना उद्यमीहरुलाई पचहत्तर हजार नगदका साथ सम्मान गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
