धितोपत्र बोर्डको नयाँ अध्यक्ष छान्न पुरानै सदस्य राखेर फेरि सिफारिस समिति गठन

0
Shares

सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पुरानै सदस्य राखेर फेरि समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्यसहितको नयाँ समिति गठन गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्। मन्त्रिपरिषद्ले पुरानै सिफारिस समितिलाई पुनः जिम्मेवारी दिएको हो ।

धितोपत्र ऐनको व्यवस्था अनुसार अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन हुने व्यवस्था छ । जसमा अर्थसचिव पदेन सदस्य र एक जना स्वतन्त्र विज्ञ सदस्य रहने व्यवस्था छ ।

सरकारले यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि माघ ४ गते श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । २०८० पुस २१ मा तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष रिक्त रहेको थियो।

सरकारले गत फागुन १६ गते बोर्ड अध्यक्षका लागि आवेदन माग गरेको थियो । सोही मागको आधारमा फागुन ३० सम्ममा १९ जना आवेदकहरूले धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएका थिए ।

समितिले कार्यविधिअनुसार चैत २५ गते परेका आवेदनमध्ये कृष्णबहादुर कार्की, नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईं गरी पाँच जनालाई ‘सर्ट लिस्ट’मा छानेको थियो । समितिले सर्ट लिस्टमा परेकाहरुलाई अन्तर्वार्ता र कार्य योजना प्रस्तुतीकरणको लागि बोलाएकोमा कार्की, अधिकारी र चापागाइ भने २ पटकसम्म बोलाउँदा पनि सहभागी भएनन् ।

कानुनबमोजिम समितिले तीन जनाको नाम सिफारिस गर्न नसकेपछि गत शुक्रबार अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको थियो । प्रक्रिया रद्द भएको तीन दिनपछि सरकारले फेरि सिफारिस समिति गठन गरेको हो । अब नयाँ सिफारिस समितिले अध्यक्षका लागि फेरी आवेदन माग गर्ने छ।

यसैबीच नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको प्रति विरोध गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । छनोट प्रक्रिया रद्द गर्ने निर्णय बदरको माग गर्दै अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट दायर गरेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।